
- सरकारले अध्यादेश जारी गरेपछि अर्थ मन्त्रालय मातहतका विभिन्न निकायका ३१ जना पदाधिकारी पदमुक्त भएका छन्।
- कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र नेपाल धितोपत्र बोर्डलगायतका संस्थाका उच्च पदस्थ अधिकारीहरू पदमुक्त भएका हुन्।
- पदमुक्त हुनेहरूमा अध्यक्ष, कार्यकारी निर्देशक, प्रशासक तथा विभिन्न बोर्डका सदस्यहरू समावेश छन्।
काठमाडौ -सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेसँगै अर्थ मन्त्रालय मातहतका निकायबाट दुई रिक्तसहित ३१ जना पदमुक्त भएका छन्।

मन्त्रालय मातहतका विभिन्न निकाय तथा संस्थानहरूमा रहेका सञ्चालक, सदस्य तथा उच्च पदस्थ अधिकारीहरू पदमुक्त भएका हुन् । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था, नेपाल धितोपत्र बोर्ड, निक्षेप तथा कर्जा सुरक्षण कोष तथा नेपाल बीमा प्राधिकरणमा रहेका महत्वपूर्ण पदहरू स्वतः रिक्त भएका हुन् ।
कर्मचारी सञ्चय कोषमा अध्यक्षका रूपमा रहेका नेपाल सरकारका बहालवाला राजश्व सचिव भूपाल वरालसहित सदस्यहरू डा. धनिराम शर्मा (नेपाल सरकार बहालवाला सहसचिव), इश्वर कार्की, विनोद थापा, प्रा. डा. तारा प्रसाद भूसाल र देवेन्द्र रमण खनाल र कोषका प्रशासक जितेन्द्र धिताल पदमुक्त भएका छन् ।
नागरिक लगानी कोषमा अध्यक्ष रहेका तुलसी प्रसाद घिमिरे, विज्ञ सञ्चालक हेमन्त राज रमाली तथा कार्यकारी निर्देशक पर्वत कुमार कार्की पनि पदमुक्त भएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको परिषद्मा रहेका तीन जना सदस्यहरूमा कुमार राई, थान प्रसाद पज्ञानी (नेपाल सरकार सहसचिव) र श्याम प्रसाद भण्डारी (नेपाल सरकार बहालवाला सहसचिव) पदमुक्त भएका छन् ।
सोही संस्थाअन्तर्गत लेखामान बोर्डमा अध्यक्ष सुनिल कुमार ढुंगेलसहित सदस्यहरू मनमोहनराज काफ्ले, जितेन्द्र कुमार मिश्र, दुर्गा प्रसाद ज्ञवाली, मनिषराज उप्रेती र विदुर लुइटेल तथा सदस्य पोषराज नेपाल पनि पदमुक्त भएका छन्। लेखापरीक्षणमान बोर्डमा अध्यक्ष जगन्नाथ उपाध्याय निरौलासहित सदस्यहरू रविन्द्र राजभण्डारी, क्षेत्र गोपाल प्रधान, शेषमणी दाहाल तथा सदस्य गणेशराज राई पनि पदमुक्त भएका छन् ।
नेपाल धितोपत्र बोर्डमा रहेका सदस्य पिताम्वर भण्डारी पनि पदमुक्त भएका छन् ।
निक्षेप तथा कर्जा सुरक्षण कोषमा सदस्य पद रिक्त रहेको उल्लेख गरिएको छ भने सदस्य प्रकाश जंग थापा र प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे पनि पदमुक्त भएका छन् ।
त्यसैगरी नेपाल बीमा प्राधिकरणमा जीवन बीमा तर्फ सदस्य रहेका डा. गणेश प्रसाद पाण्डे पदमुक्त भएका छन् भने निर्जीवन बीमा तर्फको सदस्य पद भने पहिले नै रिक्त रहेको अर्थ मन्त्रालयले जनाएको छ।
