पाकिस्तान – – पाकिस्तानको अशान्त प्रान्त बलुचिस्तानमा भएको एक शक्तिशाली बम विस्फोटमा सेनाका एक मेजरसहित तीन जना सुरक्षाकर्मीको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। मृतकहरूमा मेजर रिजवान, नाइब सुबेदार आमिन र लान्स नाइक युनिस रहेका छन्। उनीहरू नियमित गस्तीमा रहेको बेला बम विस्फोटमा परेका हुन्।

घटना बलुचिस्तानको नुश्की जिल्लास्थित ‘गरगीना’ क्षेत्रमा सोमबार राति भएको थियो। सेनाको गस्ती टोली सवार गाडीलाई लक्षित गरी रिमोट–कन्ट्रोलमार्फत राखिएको आईईडी (Improvised Explosive Device) विस्फोट गराइएको हो।
हमला पूर्वनियोजित, सेना लक्षित सेनाको गस्ती टोली नियमित सुरक्षाका लागि गइरहेका बेला मार्गमा राखिएको विस्फोटक उपकरण सक्रिय पारिएको थियो। घटनालगत्तै सुरक्षाकर्मीहरूले घाइतेलाई उद्धार गरी नजिकैको अस्पताल पुर्याएका थिए। तीमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
बलुचिस्तान लिबरेशन आर्मीले लियो जिम्मेवारी यस आक्रमणको जिम्मेवारी बलुचिस्तान लिबरेशन आर्मी (BLA) ले लिएको छ। BLA का प्रवक्ता जीयान्द बलोचले सार्वजनिक विज्ञप्तिमार्फत उक्त आक्रमण आफूहरूले योजनाबद्ध तरिकाले सफलतापूर्वक सम्पन्न गरेको दाबी गरेका छन्।
BLA बलुचिस्तानमा स्वतन्त्रता आन्दोलनमा संलग्न एक विद्रोही समूह हो, जसले विगत केही वर्षयता पाकिस्तानी सुरक्षाबलहरूलाई लक्षित गर्दै बारम्बार आक्रमण गर्दै आएको छ।बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो भू–भाग भएको प्रान्त हो तर यहाँ संसाधनको असमान वितरण, जातीय विभेद र विकासको अभावका कारण लामो समयदेखि विद्रोह चलिरहेको छ। पछिल्लो समय सुरक्षाकर्मीमाथि आक्रमणहरू बढ्दै गएका छन्। केवल यो महिनामै दुई दर्जनभन्दा बढी सुरक्षाकर्मीहरू विद्रोही हमलामा घाइते वा मारिएका छन्।
