
- रास्वपा निकट प्रवासी नेपाली सम्पर्क मञ्च भारतअन्तर्गत नोएडा नगर समिति गठन गरिएको छ।
- चन्द्र प्रसाद लामिछानेको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको छ।
- कार्यक्रममा सुशासन र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने विषयमा जोड दिइएको छ।
अर्जुन थापा दिल्ली नोएडा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट प्रवासी नेपाली सम्पर्क मञ्च, भारतअन्तर्गत दिल्ली राज्य समितिको आयोजनामा नोएडा नगर समिति गठन कार्यक्रम सम्पन्न भएको छ। आइतबार सम्पन्न उक्त कार्यक्रममा उत्साहजनक उपस्थिति र सक्रिय सहभागिताले कार्यक्रमलाई विशेष बनाएको थियो। कार्यक्रममा चन्द्र प्रसाद लामिछानेको नेतृत्वमा नयाँ नगर समिति सर्वसम्मत रूपमा गठन गरिएको हो।


नवगठित समितिमा अध्यक्षमा चन्द्र प्रसाद लामिछाने चयन हुँदा उपाध्यक्षमा गुणानिधी गैरे, महिला उपाध्यक्षमा जमुना विश्वकर्मा (गुल्मेली जमुना) सचिवमा बिवेक ज्ञवाली, सह-सचिवमा बिष्णु केसी, कोषाध्यक्षमा कृष्ण विश्वकर्मा, सह-कोषाध्यक्षमा बोमलाल कडेल, प्रवक्तामा बिष्णु केसी, सह-प्रवक्तामा रेस्मा शर्मा, क्यूआरटी प्रमुखमा कृष्ण श्रेष्ठ तथा प्रमुख सल्लाहकारमा राजेन्द्र घिमिरे चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा पदम घिमिरे, पवित्रा जिसी, बिष्णु भाट, अर्जुन थापा, बिष्णु शर्मा र भोजराज लामिछाने चयन भएका छन्।

कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष अर्जुन भण्डारी प्रमुख अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। त्यस्तै हरियाणा संयोजक तुल्सीराम पुन, दिल्ली राज्य समिति वरिष्ठ सल्लाहकार राम नेपाल लगायत विभिन्न नगर समितिका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। साथै नेपाली कांग्रेसका गोविन्द पोख्रेल, पत्रकार अर्जुन थापा, लालिगुराँस प्रवासी संघका अध्यक्ष सन्दीप भाट तथा सामाजिक अभियन्ता राजु परिवारसहित अन्य विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो साथै शुभकामना मन्तव्य समेत दिएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा वक्ताहरूले देशमा सुशासन, विकास, रोजगारी, स्वास्थ्य र शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे। विदेशिन बाध्य हुने अवस्था अन्त्य गर्दै स्वदेशमै सम्मानजनक रोजगारी सिर्जना गर्ने वातावरण निर्माण हुनुपर्नेमा जोड दिइएको थियो। नयाँ सरकारले यसतर्फ ठोस कदम चाल्ने अपेक्षा समेत व्यक्त गरिएको थियो।
कार्यक्रमको सञ्चालन बिवेक ज्ञवालीले गर्नुभएको थियो भने अध्यक्षता राम नेपालले गर्नुभएको थियो।कार्यक्रमको बीच–बीचमा सांगीतिक तथा सांस्कृतिक प्रस्तुति पनि राखिएको थियो।

दिल्लीकी चर्चित बाल कलाकार तथा नृत्यांगना सृष्टि अधिकारीसहित अन्य कलाकारहरूले प्रस्तुत गरेका मौलिक नृत्यले उपस्थित सम्पुर्ण लाई मन्त्रमुग्ध बनाएको थियो। कलाकारहरू नेपाली परम्परागत पोशाकमा प्रस्तुत हुँदा कार्यक्रमले नेपालीपनको झल्को दिएको थियो।


सहभागीहरूको उत्साह र एकताले आगामी दिनमा मञ्चको गतिविधि अझ प्रभावकारी बन्ने संकेत देखिन्थ्यो साथै नयाँ सरकार बाट सम्पुर्णले नयाँ आशा अपेक्षा हरु पनि गरेको देखन सकिन्थ्यो ।

