
- राष्ट्रिय सभाको उपाध्यक्ष र समिति सभापति चयनका लागि छलफल सुरु भएको छ।
- अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा अधिवेशनको तयारीबारे बैठक बसेको छ।
- बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा सचेतकहरूको उपस्थिति रहेको छ।
काठमाडौँ, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र दुई समिति सभापति चयनका लागि पहल शुरु भएको छ।

आज राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएर आगामी अधिवेशनको पूर्वतयारी, उपाध्यक्ष र समिति सभापतिको निर्वाचन लगायतका विषयमा छलफल शुरु गरेका हुन्।
अध्यक्ष दाहालको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुको समिति विभाजन लगायतका विषयमा छलफल भइरहेको सञ्चार विज्ञ डिल्ली मल्लले जानकारी दिए।
मल्लका अनुसार बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरुको सहभागिता रहेको छ।
राष्ट्रिय सभामा २४ सदस्यसहित नेपाली कांग्रेस सबैभन्दा ठुलो दल रहेको छ भने १७ सदस्यसहित नेपाली कम्युनिष्ट पार्टी दोस्रो दलका रुपमा रहेको छ। त्यस्तै एमाले १०, जसपा २, लोसपा १, राष्ट्रिय जनमोर्चा १, मनोनित २ जना गरि ५७ जना रहेका छन्।
राष्ट्रपतिले मनोनित गर्ने १ पदमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारले सिफारिस गरेको छ भने १ जना सदस्यको निधनपछि खाली रहेको छ।
