रुपन्देही। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनिल लम्साल हाल रूपन्देही–१ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। लामो समयदेखि पूर्वाधार, शहरी योजना र सुशासन क्षेत्रमा काम गर्दै आएका लम्साललाई यस क्षेत्रमा नयाँ दृष्टिकोण र नेतृत्वको विकल्पका रूपमा हेरिन थालिएको छ।

वि.सं. २०४७ सालमा स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका बिर्घामा जन्मिएका लम्साल हाल तिलोत्तमा नगरपालिका वडा नं ७ का स्थायी बासिन्दा हुन्। बाल्यकालदेखि नै पहाडी र तराईको मिश्रित सामाजिक परिवेशमा हुर्किएका उनी शैक्षिक र पेशागत रूपमा पूर्ण रूपले सक्षम व्यक्ति हुन्। लम्सालले लुम्बिनी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतस्थित Nitte Meenakshi Institute of Technology बाट Structural Engineering मा स्नातकोत्तर अध्ययन पूरा गरेका छन्। हाल उनी काठमाडौँ विश्वविद्यालयबाट Solid Waste Management विषयमा PhD अध्ययनरत छन्।
पेशागत रूपमा लम्साल पहिला काठमाडौँ महानगरपालिकामा नगर पूर्वाधार तथा वातावरण विज्ञ का रूपमा कार्यरत थिए। उनले भैरहवा, पोखरा, विराटनगर अन्तर्राष्ट्रिय विमानस्थल, सिंहदरबार पुनर्निर्माण, देशका ३५ जिल्लामा नमुना विद्यालय तथा १२ जिल्लामा अस्पताल पूर्वाधार विकास जस्ता परियोजनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। रूपन्देहीमा रहेको Extratech Oval Cricket Stadium को पूर्वाधारमा पनि उनको अनुभव रहेको छ।
राजनीतिक दृष्टिले, लम्साललाई युवा, प्राविधिक पृष्ठभूमि र व्यवस्थापकीय क्षमता बोकेको नेतृत्वकर्ताका रूपमा हेरिन थालिएको छ। यसअघिका निर्वाचनमा प्रतिस्पर्धी उम्मेदवार नबन्दा रूपन्देही–१ मा सबै दलबाट नयाँ अनुहार मैदानमा छन्। रास्वपा महामन्त्री सुनिल लम्सालले उम्मेदवारी दिएका यस क्षेत्रमा यसअघि बलियो सांगठनिक पकड मानिएको कांग्रेस–एमाले र राप्रपाका युवा उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ।
स्वतन्त्रसहित ३१ उम्मेदवार प्रतिष्पर्धामा रहेका यस क्षेत्रमा गत निर्वाचनको नतिजा र दलका गतिविधिका आधारमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मुख्य प्रतिस्पर्धामा छन्। यसअनुसार, नेकपा एमालेबाट दधिराम न्यौपाने, नेपाली कांग्रेसबाट हिराबहादुर खत्री, नेकपाबाट घनश्याम यादव, रास्वपाबाट सुनिल लम्साल र राप्रपाबाट प्रज्वल बोहरा चुनावी मैदानमा छन्।
७३ हजार ८ सय ५४ पुरुषसहित कुल १ लाख ४६ हजार ८ सय २४ मतदाता रहेको यस क्षेत्रमा २० स्वतन्त्रसहित ३१ जना उम्मेदवार, ४५ मतदान स्थल र १ सय ५९ मतदान केन्द्र स्थापना रहेका छन् ।
मतदाताहरूका लागि यो निर्वाचन रोचक छ। यस क्षेत्रमा प्रतिस्पर्धा कडा भए पनि सुनिल लम्सालले आफ्नो प्राविधिक क्षमता, व्यावसायिक अनुभव र युवा नेतृत्वको मिश्रण मार्फत मतदातामा सकारात्मक प्रभाव र विश्वास जगाउन सफल देखिन्छन्। उनका अनुभव, क्षमता र नयाँ सोचले यस क्षेत्रमा विकास, सुशासन र नयाँ नेतृत्वतर्फ उन्मुख प्रेरणा प्रदान गर्दै, उनलाई केही हदसम्म मतदाताको प्राथमिकताका पात्रका रूपमा हेरिएको छ ।

