अर्घाखाँची – नेपाली कम्युनिस्ट पार्टी अर्घाखाँचीले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रूपमा रामबहादुर चौहानलाई अघि सारेको ह।

पार्टीको जिल्ला कमिटीको निर्णयअनुसार चौहानलाई प्रतिनिधि सभाको उम्मेदवार बनाइएको छ।
मालारानी गाउँपालिका–५ बागीमा जन्मनु भएका नेता चौहान अर्घाखाँची जिल्लाका प्रखर वक्ता तथा जनप्रिय नेतामध्ये एकका रूपमा परिचित हुनुहुन्छ।
लगनशील, गतिशील र अध्ययनशील स्वभावका चौहानलाई जिल्लाका सामान्य नागरिकले समेत सहजै चिन्ने गर्दछन्।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका चौहान पाणिनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति हुँदै तत्कालीन नेकपा एमाले जिल्ला कमिटीमा लामो समय सक्रिय रहनुभएको थियो। उहाँले निर्वाचित जिल्ला कमिटी सचिवको जिम्मेवारी समेत सफलतापूर्वक निर्वाह गर्नुभएको छ।
एमाले विभाजनपछि चौहान नेकपा (एकीकृत समाजवादी) अर्घाखाँचीको जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभयो। हाल उहाँ नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका रूपमा सक्रिय रहँदै आउनुभएको छ।
पार्टीले जिल्लामा जनमुखी राजनीति, संगठन सुदृढीकरण र विकास निर्माणका मुद्दालाई प्रभावकारी रूपमा उठाउन सक्ने सक्षम नेतृत्वका रूपमा चौहानलाई उम्मेदवार बनाइएको हो ।
