कर्णाली – प्रथम इन्डो–नेपाल खुला मार्शल आर्ट प्रतियोगितामा मुगु जिल्लाका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गर्दै जिल्लाको नाम उजागर गरेका छन्। उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट आएका खेलाडीहरूको सहभागिता रहेको थियो।

प्रतियोगिताअन्तर्गत केटा तर्फ ४०–४५ केजी तौल समूहमा मुगुका भूपिन्द्र कामीले प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएका छन्। त्यसैगरी, २५–३० केजी तौल समूहमा दीपक बुढाले पनि प्रथम स्थानसहित स्वर्ण पदक हात पारेका छन्।
यस्तै, केटी तर्फ ३०–३५ केजी तौल समूहमा मुगुकी वर्षा साहानीले द्वितीय स्थान हासिल गर्दै रजत पदक जितेकी छन्।
मुगुका खेलाडी तथा मार्शल आर्ट प्रशिक्षक आदेश विश्वकर्माका अनुसार प्रतियोगिता उच्च प्रतिस्पर्धात्मक रहे पनि नियमित अभ्यास, अनुशासन र प्रशिक्षकको मार्गदर्शनका कारण मुगुका खेलाडीहरू सफल हुन सकेका हुन्। उनले यस उपलब्धिले जिल्लाका बालबालिका तथा युवाहरूलाई मार्शल आर्ट खेलतर्फ थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
मुगुका खेलाडीहरूको यस सफलताले जिल्लाको खेलकुद क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीय खेलप्रेमीहरूको भनाइ छ। उनीहरूले यस्ता प्रतिभाशाली खेलाडीहरूलाई थप प्रोत्साहन र सहयोग आवश्यक रहेको पनि बताएका छन्।


