अर्घाखाँची : नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो लामो राजनीतिक तथा सामाजिक यात्राको विवरण सार्वजनिक गर्दै उनले पार्टी नेतृत्वमा थप जिम्मेवारी लिन तयार रहेको सन्देश दिएका हुन्।

२०२८ सालमा जन्मिएका भुसालले २०४१ सालमा अर्घाखाँचीको आदर्श मावि, खनदहमा अध्ययनरत रहँदा अनेरास्ववियु (एकताको पाँचौँ) को सदस्यता लिएसँगै संगठित राजनीतिक जीवनको सुरुवात गरेका थिए। २०४६ सालको जनआन्दोलनमा पाणिनि क्याम्पस अर्घाखाँचीमा अध्ययनरत रहँदा उनी सक्रिय सहभागी बने।
२०४७ सालमा नेकपा एमाले बाँगी गाउँ पार्टी सक्रिय दलको सदस्य बनेका भुसालले पार्टी तथा जनसंगठनमा विभिन्न जिम्मेवारी सम्हाले। २०४८ सालमा बाँगी गाउँ कमिटी सचिव बनेका उनी २०५४ सालमा तत्कालीन बाँगी गाविस अध्यक्षमा निर्वाचित भए।
२०७८ र २०८१ सालमा सम्पन्न जिल्ला अधिवेशनबाट उनी सर्वसम्मत रूपमा नेकपा एमाले अर्घाखाँची जिल्ला अध्यक्ष चयन भए। २०७९ को स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनविरुद्ध एमालेले एक्लै प्रतिस्पर्धा गर्दै ५३ प्रतिशत जनप्रतिनिधि जिताउन सफल भएको नेतृत्व उनकै हातमा थियो। संघ र प्रदेश निर्वाचनमा समेत एमालेले जिल्लामा क्लिन स्वीप गरेको थियो।
राजनीतिक जीवनका क्रममा उनले सशस्त्र द्वन्द्वकालमा माओवादीद्वारा घरको सम्पत्ति लुटपाट र तीन वर्षसम्म परिवारसहित विस्थापित जीवन बिताउनुपरेको पीडा पनि भोगेका छन्। यस्ता कठिन परिस्थितिका बाबजुद संगठन निर्माणमा निरन्तर सक्रिय रहँदै आएका भुसालले केन्द्रीय नेतृत्वमा पुगेर पार्टीलाई अझ बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

