काठमाडौं- मेटा कम्पनीले नेपालका लागि फेसबुक कन्टेन्ट मोनेटाइजेसन सेवा औपचारिक रूपमा खुला गरेसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताबीच आम्दानीप्रति चासो उल्लेख्य रूपमा बढेको छ। यससँगै फेसबुकमा कन्टेन्टमार्फत आम्दानी गर्न आवश्यक योग्यता पूरा गर्न प्रयोगकर्ताहरूबीच सहकार्य अभियान नै सुरु भएको छ।

यसअघि मेटाले फेसबुकबाट कमाई सुविधा ‘इनभिटेशन बेसिस’ मा सीमित प्रयोगकर्तालाई मात्र उपलब्ध गराउँदै आएको थियो। तर गत अगस्ट ३१ देखि मेटाले ‘इन–स्ट्रीम एड्स’, ‘एड्स अन रील्स’ र ‘प्रफर्मेन्स बोनस’ जस्ता अलग–अलग मोडेल हटाएर एकीकृत रूपमा ‘फेसबुक कन्टेन्ट मोनेटाइजेसन’ प्रणाली लागू गरेको हो।

मेटाको यो निर्णयसँगै नेपालका हजारौँ कन्टेन्ट क्रिएटर र सामान्य प्रयोगकर्ताहरू पनि फेसबुकबाट आम्दानी गर्ने लक्ष्यसहित सक्रिय बनेका छन्। विशेषगरी फेसबुकमा खोलिएका विभिन्न ग्रुपमार्फत प्रयोगकर्ताहरूले एक–आपसमा सहकार्य गर्दै फलोअर्स बढाउने, पोस्टमा लाइक, कमेन्ट र इङ्गेजमेन्ट वृद्धि गर्ने अभियान सञ्चालन गरिरहेका छन्।
यस्तै ग्रुपहरूमध्ये हाल ‘Facebook Monetize सहकार्य’ नामक फेसबुक ग्रुप अत्यन्त सक्रिय देखिएको छ। उक्त ग्रुपमा हाल एक लाख पाँच हजारभन्दा बढी सदस्य आवद्ध छन् भने २ जना एडमिन र १२ जाना ग्रुपका modeator रहेको सागर खड्का क्षेत्रीले नेपाल खोज खबर लाई जानकारी दिँदै ग्रुपमार्फत प्रयोगकर्ताहरूलाई मोनेटाइजेसनका मापदण्ड पूरा गर्न सहकार्य भइरहेको बताए।
एक–आपसमा सहयोग गर्दै फेसबुकमा फलोअर्स र इङ्गेजमेन्ट बढाउने उद्देश्यले यो ग्रुप दामोदर न्यौपानेको परिकल्पनामा स्थापना गरिएको हो। फेसबुक मोनेटाइजेसनको क्षेत्रमा अत्यन्त सक्रिय रहेको यस ग्रुपले सामाजिक सञ्जाल प्रयोगकर्तालाई व्यवहारिक सहयोग पुर्याउँदै आएको ग्रुपका अर्का एडमिन प्रदीप गौतमले बताए।
एडमिनहरूका अनुसार आगामी दिनमा ग्रुपलाई अझ व्यवस्थित, मर्यादित र प्रभावकारी बनाउँदै लैजान सदस्यहरूको साथ–सहयोग र रचनात्मक सुझावको अपेक्षा गरिएको छ। मेटाद्वारा खुलेको नयाँ मोनेटाइजेसन अवसरले डिजिटल कन्टेन्ट निर्माणलाई प्रोत्साहन गर्ने र नेपाली प्रयोगकर्ताका लागि नयाँ आम्दानीको ढोका खोल्ने विश्वास गरिएको छ।


