कर्णाली – मुगुको छायाँनाथ रारा नगरपालिका–३ दलित तुमामा रहेको रेडपाण्डा एकीकृत कृषि फर्मले सुरु गरेको टिमुर खेती क्रमशः फस्टाउँदै गएको छ। हिमाली भेगको हावापानीलाई ध्यानमा राखेर सञ्चालन गरिएको यो खेती करिब छ वर्षदेखि निरन्तर चल्दै आएको छ।

छायाँनाथ नगरपालिका–१ का कृषक सन्चुरा मल्लका अनुसार टिमुर खेतीको शुरुवाती वर्ष निकै कठिन भएको थियो। उनले भने, “पहिलो वर्ष बोटबिरुवा जोगाउन धेरै समस्या आयो। साना बिरुवाको हेरचाह गर्न कठोर मेहनत लाग्थ्यो। तर तीन वर्षसम्म जोगाएर लगाइएका बिरुवाले चौथो वर्षदेखि राम्रो फल दिन थाले।”
भौगोलिक विकटता, माटोको फरकपन र कठोर मौसमका कारण सुरुमा लगाइएका १०० वटा टिमुरका बोटमध्ये ४८ वटा मात्र जोगिन सफल भएको मल्ल बताउँछन्। अहिले ती जोगिएका बोटहरू निकै स्वस्थ देखिएका छन्।
मल्लका अनुसार टिमुर खेतीमा गाईगोरुको स्थानीय मल अत्यावश्यक मानिन्छ। यस वर्ष उत्पादन करिब १ क्विन्टल पुगेको उनले जानकारी दिए।
बजार मूल्यको बारेमा उनले भने, “स्थानीय बजारमा प्रतिकेजी १२०० देखि १५०० रुपैयाँसम्म पर्छ। यस वर्ष पहिलोपटक काठमाडौँसम्म लैजाने तयारी गर्दैछु।”
मुगु जिल्लामा टिमुर खेतीका लागि सोरु गाउँपालिका बढी प्रसिद्ध मानिए पनि आफूले सदरमुकाम नजिकैको क्षेत्रमा पहिलोपटक सफल परीक्षण गरेको मल्लको भनाइ छ।
टिमुरका औषधीय र पाकप्रयोग सम्बन्धी विशेषताबारे बताउँदै मल्लले भने, “टिमुर दाँत दुख्दा उपयोगी हुन्छ, साथै स्वादिष्ट खानेकुरामा पनि धेरै प्रयोग हुन्छ। यस वर्ष सोचेभन्दा राम्रो उत्पादन भएपछि खेतीप्रति अझै आकर्षण बढेको छ।”


