icon
निर्वाचन
२६ मंसिर २०८२, शुक्रबार
icon
निर्वाचन

रिलायन्स स्पिनिङ मिल नौ दिनदेखि बन्द, चार हजार मजदुर बेरोजगारको जोखिममा

विराटनगर — सुनसरीस्थित देशकै सबैभन्दा ठूलो धागो उत्पादन गर्ने उद्योग रिलायन्स स्पिनिङ मिल विगत नौ दिनदेखि पूर्ण रूपमा बन्द भएको छ। नेपाल विद्युत प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता महसुल नबुझाएको भन्दै कात्तिक ३ गते उद्योगको विद्युत लाइन काटेपछि उत्पादन ठप्प भएको हो।

Workplace

उद्योग बन्द हुँदा करिब चार हजार मजदुरको रोजगारी संकटमा परेको छ। तीमध्ये अधिकांश ज्यालादारी र करार सेवामा कार्यरत मजदुर हुन्। दसैं–तिहार मनाएर फर्किएका उनीहरू अहिले रोजगार गुम्ने भयमा परेका छन्।

मजदुर गीता सापकोटा भन्छिन्, “हामीसँगै काम गर्ने धेरै साथीहरू अहिले बेरोजगार हुनुहुन्छ। जेनेरेटर र सोलारबाट दुईवटा प्लान्टमा केहीलाई मात्र काम दिइएको छ, तर यो कति दिन चल्छ, थाहा छैन।”

त्यस्तै मजदुर डिल्लीराम कोइरालाले ठूला उद्योगहरू पटक–पटक बन्द हुनु मजदुरमाथिको अन्याय भएको बताए। “यहाँ मेचीदेखि महाकालीसम्मका ७७ जिल्लाका गरिब मानिसहरू काम गर्छन्। उद्योग बन्द हुँदा सबैको पेटमा ठेस पुग्छ,” उनले भने, “सरकारले उद्योग चल्ने वातावरण बनाउनुपर्छ।”

मजदुर उमेशचन्द्र आचार्य भन्छन्, “यो त साँढेको जुधाइ, बाछाको मिचाइ जस्तै भयो। उद्योग र सरकारबीचको विवादको मार हामी मजदुरले खेपिरहेका छौं। अब हाम्रो विकल्प आन्दोलन वा सडकमा थाल थापेर बस्ने मात्र बाँकी छ।”

उद्योगका व्यवस्थापक महेश पोखरेलका अनुसार विद्युत काटिएपछि अहिले दुईवटा प्लान्ट मात्र जेनेरेटर र सोलार ऊर्जाबाट आंशिक रूपमा सञ्चालनमा छन्। “हाल कुल उत्पादन क्षमताको करिब ३ प्रतिशत मात्र धागो उत्पादन भइरहेको छ। जेनेरेटरबाट प्रतियुनिट ३०–३५ रुपैयाँ पर्छ, यस्तो खर्चमा उद्योग लामो समय टिक्न सक्दैन,” पोखरेलले भने।

सामान्य अवस्थामा रिलायन्स स्पिनिङ मिल्सले दैनिक ३० मेट्रिक टन धागो उत्पादन गर्दै आएको थियो। गत आर्थिक वर्षमा उद्योगले करिब ११ अर्ब रुपैयाँ बराबरको धागो निर्यात र ३ अर्ब बराबरको आन्तरिक बिक्री गरेको थियो।

विद्युत प्राधिकरणले उद्योगसँग ट्रंक र डेडिकेटेड लाइनको महसुल तिर्न माग्दै आएको छ, तर उद्योगले उक्त सुविधा प्रयोग नगरेको दाबी गर्दै प्रमाण माग्दै आएको छ। यस विषयमा अदालत र प्राधिकरणबीचको विवाद झनै जटिल बनेको छ।

यसैबीच, सरकारले गठन गरेको पुनरावेदन समिति खारेज गरेपछि उद्योगले न्यायिक निरुपणका लागि उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेको छ। उक्त रिटमाथि कात्तिक १९ गते छलफल हुने तय भएको छ।

नेपाल खोज खबरमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भएमा साथै तपाई आफ्नो बिजनेश प्रवद्धन गर्न चाहानुहुन्छ भने nepalkhojkhabar81@gmail.com सम्पर्क गर्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

फेसबुकमा हामी

सम्बन्धित खबर

फेसबुकमा हामी

भरखर पोष्ट भएका

छुटाउनुभयो कि ?