कात्तिक, काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १० दिने जनसंघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। कात्तिक २० गतेसम्म चरणबद्ध संघर्ष कार्यक्रम सञ्चालन गर्ने निर्णय पार्टीले सोमबार सार्वजनिक गरेको हो।

पार्टीका अनुसार २४–३० असोजसम्म कपिलवस्तुमा बसेको केन्द्रीय समितिको विशेष बैठकले संघर्षका कार्यक्रम पारित गरेको थियो। त्यसअनुसार १३ कात्तिकसम्म देशभर भित्ते लेखन, १५ कात्तिकमा राष्ट्रियस्तरमा मसाल जुलुस, १७ कात्तिकमा कोणसभा सहितको विरोध प्रदर्शन र २० कात्तिकमा काठमाडौंमा बृहत् जनसभा आयोजना गरिने कार्यक्रम छ।
भित्ते लेखन अभियानमा सर्वपक्षीय अन्तरिम सरकार गठन, अग्राधिकारसहितको समाजवाद, जेनजी आन्दोलनमाथिको दमनको छानबिन, रोजगारीको ग्यारेन्टी, भ्रष्टाचार छानबिन र दलाल प्रकृतिका एनजीओ खारेज जस्ता नारा लेखिने पार्टीले जनाएको छ।
मुख्य कार्यक्रमका रूपमा कात्तिक २० गते काठमाडौंमा आयोजना हुने सभामा पार्टी महासचिव विप्लवले सम्बोधन गर्नेछन्। पार्टीले स्वाधीनता, राष्ट्रवाद र समाजवादका पक्षधरलाई उक्त सभामा सहभागिताका लागि आह्वान गरेको छ।
विप्लवले सामाजिक सञ्जालमार्फत सोमबार संदेश जारी गर्दै भनेका छन्, “नेपाललाई हामी आफैंले परिवर्तन गर्छौं। भ्रष्ट, दलाल र परजीवी तत्वहरूको अन्त्य भएपछि मात्र देश आत्मसम्मानसहित अगाडि बढ्छ।” उनले २० कात्तिकका लागि काठमाडौंमा भेट्न आग्रह गरेका हुन्।
