काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल (अनेरास्ववियु) ले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङ विरुद्ध देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा जाहेरी दर्ता गर्ने तयारी गरेको छ।

अखिलका महासचिव दीपक धामीका अनुसार हालैको **‘जेनजी आन्दोलन’**का क्रममा देशका विभिन्न स्थानमा सार्वजनिक सम्पत्ति, प्रहरी चौकी र अदालतमा तोडफोड तथा आगजनी भएका कारण ती घटनामा संलग्नको रूपमा साह र गुरुङलाई जिम्मेवार ठहर गर्दै जाहेरी दिने निर्णय गरिएको हो।
धामीले भने, “सार्वजनिक सम्पत्ति, अड्डा, अदालत र प्रहरी चौकीमा तोडफोड र आगजनी भएका छन्। त्यसमा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै देशभरका जिल्ला प्रहरी कार्यालयहरूमा आजदेखि जाहेरी दर्ता गर्न थालेका छौं।”
उनका अनुसार केन्द्रीय समन्वयमा जिल्लागत रूपमा जाहेरी दर्ता गर्ने अभियान सञ्चालन गरिएको छ।
यसअघि मंगलबार अखिलले काठमाडौं जिल्ला प्रहरी परिसरमा जाहेरी दर्ता गर्न खोजेको थियो तर प्रहरी प्रशासनले तत्काल दर्ता नगरी सरकारी वकिलसँग छलफल गरेर २४ घण्टाभित्र जवाफ दिने जनाएको थियो।
अखिलले भनेको छ— “जेनजी आन्दोलनको नाममा सार्वजनिक सम्पत्तिमा भएको तोडफोड र आगजनी मुलुकविरुद्धको आपराधिक गतिविधि हो। त्यसका जिम्मेवारलाई कानुनी कारबाही हुनुपर्छ।”
अखिलले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीका घटनामा बालेन्द्र साह र सुदन गुरुङलाई संलग्न ठहर गर्दै देशभर जाहेरी दर्ता गर्ने अभियान सुरु गरेको छ।
