काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले मंगलबार शिष्टाचार भेट गरेका छन् ।

भेटका क्रममा अर्थमन्त्री खनालले नेपाल–भारतबीचको ऐतिहासिक र विशेष सम्बन्धको चर्चा गर्दै भारतले पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे । उनले विद्यमान चुनौतीपूर्ण परिस्थितिमा छिमेकी मुलुकसहित दातृ निकायहरूसँग आर्थिक साझेदारी निरन्तर आवश्यक रहेकोमा जोड दिए ।
त्यस अवसरमा राजदूत श्रीवास्तवले भारत नेपालकै सबैभन्दा नजिकको छिमेकी भएको नाताले दुवै मुलुकबीचको सम्बन्ध अझ मजबुत बनाउन तत्पर रहेको बताए । उनले भारतले सञ्चालन गरिरहेका विकास आयोजना तथा कार्यक्रमलाई अझ गति दिने प्रतिबद्धता व्यक्त गर्दै नेपालमा लगानी गरिरहेका भारतीय निजी क्षेत्रको मनोबल उच्च बनाउन सहयोग गर्ने आश्वासन दिए ।
यसैगरी, नेपाल–भारत व्यापार सहजीकरणका लागि दुवै पक्षबीच समन्वय सुदृढ गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।
