काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ। प्रचण्ड आज सार्वजनिक भए सङै यो निर्णय गरेका हुन ।

जेन–जी आन्दोलनको क्रममा कोटेश्वरस्थित पेरिसडाँडामा रहेको पार्टी कार्यालयमा आगजनी र तोडफोड भएपछि आज अध्यक्ष प्रचण्डले स्थल अवलोकन गर्दै ‘देशभरका कार्यकर्ताको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने’ घोषणा गरेका हुन्।
कार्यालय अवलोकनपछि प्रचण्डले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरु जोगिएको बताए। ती जोगाउन भूमिका खेलेका कर्मचारी तथा कार्यकर्ताहरुलाई उनले धन्यवादसमेत दिए।
यो अवलोकनसँगै जेन–जी आन्दोलन शुरु भएपछि प्रचण्ड पहिलो पटक सार्वजनिक भएका हुन्। सेनाको सुरक्षा व्यवस्थाबीच उनले पेरिसडाँडामा पुगेर कार्यकर्ताहरुसँग केही समय सरसफाइमा हातेमालो गरे। त्यसपछि शहीद स्तम्भमा माल्यार्पणसमेत गरे।
हालैसम्म सेनाको ब्यारेकमा राखिएका प्रचण्ड केही दिनयता आफन्तको घरमा बस्दै आएका छन्। आन्दोलनकै क्रममा प्रचण्ड बस्दै आएको खुमलटारस्थित निवासमा समेत आगजनी भएको थियो। उनका छोरी गंगा र रेनु लगायत अन्य नेताहरुको घर र सम्पत्तिमा पनि तोडफोड भएको थियो।
