काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चीनको तियानजिनमा आइतबार भएको भेटवार्तामा दुई देशबीच भदौ ३ गते भएको सीमा सहमतिलाई थप समर्थन गर्ने सहमति भएको छ।

नयाँ दिल्लीमा भारत र चीनका विशेष प्रतिनिधि (एसआर)बीच भएको वार्तामा लिपुलेकसहित तीन नाकाबाट व्यापार पुनः सुचारु गर्ने निर्णय भएको थियो। सोही सहमतिको निरन्तरतास्वरूप मोदी र सीबीच आइतबार तियानजिनमा छलफल भएको हो।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री मोदी र राष्ट्रपति सीले यस महिनाको सुरुवातमा दुई विशेष प्रतिनिधिबीच भएको वार्तामा लिइएका महत्वपूर्ण निर्णयहरूलाई स्वीकार गरे र उनीहरूको प्रयासलाई थप समर्थन गर्ने सहमति जनाए।”
तर, भारत–चीनबीचको उक्त सहमतिप्रति नेपालले भने कडा आपत्ति जनाएको छ। नेपाल सरकारले भदौ ४ गते विज्ञप्ति जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै भारत–चीन सहमतिको विरोध गरेको थियो। परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रमा सडक निर्माण वा सीमा व्यापारसम्बन्धी कुनै क्रियाकलाप नगर्न भारत सरकारलाई आग्रह गर्दै आएको र सो जानकारी चीनलाई पनि गराइसकेको जनाएको छ।
नेपालको विज्ञप्तिपछि भारतले समेत आफ्नो धारणा सार्वजनिक गर्दै लिपुलेकलाई भारतकै भूभाग दाबी गरेको थियो।
यसबीच, चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार तियानजिनमै राष्ट्रपति सीलाई भेटेर भारत–चीन सहमतिको आपत्ति जनाएका थिए। ओलीले लिपुलेकमाथि नेपालको ऐतिहासिक दाबी र १८१६ को सुगौली सन्धिअनुसार महाकालीपूर्वका भूभाग नेपालकै भएको स्पष्ट पारेका थिए। परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले सो मुद्दामा चीनले नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गरेका थिए।
प्रधानमन्त्री ओलीले भेट गरेको भोलिपल्ट सोमबार प्रधानमन्त्री मोदीले राष्ट्रपति सीसँग भेटवार्ता गरेका हुन्। सोही भेटमा दुई नेताले भारत–चीन सहमतिबारे विस्तृत छलफल गरेका थिए।
विदेश मन्त्रालयको विज्ञप्तिअनुसार मोदी र सीले सीमा सम्बन्धी प्रश्नलाई निष्पक्ष, उचित र दुवै देशका जनताको हितमा हुने गरी समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनीहरूले कैलाश–मानसरोवर यात्रा, पर्यटक भिसा सहजीकरण, प्रत्यक्ष उडान विस्तार र जनता–जनताबीचको सम्बन्ध सुदृढीकरणमा जोड दिएका छन्।
केही महिनायता भारतीय तीर्थयात्रीहरू लिपुलेक हुँदै तिब्बतस्थित कैलाश–मानसरोवर जाने क्रम बढेपछि नेपालले यसलाई संवेदनशील मुद्दाका रूपमा उठाउँदै आएको छ।
मोदी र सीबीचको भेटमा द्विपक्षीय व्यापार र लगानी विस्तार, व्यापार घाटा न्यूनिकरण र राजनीतिक–रणनीतिक सम्बन्धलाई दीर्घकालीन दृष्टिमा अघि बढाउनुपर्नेमा पनि जोड दिइएको छ।
अमेरिकी नीतिगत दबाब र व्यापारमा बढ्दो प्रतिस्पर्धाबीच मोदी करिब सात वर्षपछि चीन भ्रमणमा पुगेका हुन्। यसअघि सन् २०१८ मा उनले चीनको भ्रमण गरेका थिए
