काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्तामा लिपुलेकको विषयलाई उच्च प्राथमिकताका साथ उठाउनुभएको छ।

प्रधानमन्त्री ओलीले चीन–भारतबीच नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने गरी भएको सम्झौताप्रति नेपालको गम्भीर आपत्ति रहेको प्रष्ट पार्दै सन् १८१६ को सुगौली सन्धिअनुसार उक्त भूभाग नेपालको अविभाज्य अंग भएको स्मरण गराउनुभएको हो।
शनिबार थियानजिनस्थित अतिथि गृहमा भएको सौहार्दपूर्ण द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाण प्रस्तुत गर्दै महाकाली नदीपूर्वका लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै सार्वभौम भूभाग रहेको स्पष्ट पार्नुभएको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिनुभयो।
सचिव राईका अनुसार, प्रधानमन्त्री ओलीले नेपाल–चीनबीचको मित्रता र विभिन्न क्षेत्रका सहकार्यबारे पनि विस्तृत छलफल गर्नुभएको थियो। सम्बन्धलाई अझ मजबुत बनाउन दुवै देशका विद्यमान संयन्त्रलाई सक्रिय बनाउने सहमति भएको पनि उहाँले बताउनुभयो।

