अर्जुन थापा, नयाँ दिल्ली । हाम्रो स्वाभिमान ट्रस्टले यस वर्ष पनि भव्य ढंगले १२औं हरितालिका तीज महोत्सव तथा राष्ट्रिय सम्मान कार्यक्रम सम्पन्न गरेको छ । (अगस्त २६, २०२५) का दिन नयाँ दिल्लीको तालकटोरा इनडोर स्टेडियम हजारौं नेपाली भाषी दिदीबहिनी, दाजुभाइ र अभिभावकको भीडले भरिएको थियो । कार्यक्रमको सुरुवातैमा अशोक ठाकुर, दिल्लीका विधायक अनिल शर्मा, डीसीएम सुरेन्द्र थापा, समाजसेवी अजय बंसल, कंचन गुरुङ र ट्रस्टका अध्यक्ष नारायण श्रेष्ठले संयुक्त रूपमा दीप प्रज्वलन गरेर तीज महोत्सवको शुभारम्भ गर्नु भएको थियो ।


सुरु देखिनै माहोल निकै रमाइलो थियो । भित्र स्टेडियम खचाखच भरिएको, भित्र नपरेका हजारौं नेपालीहरू बाहिरै पञ्चेबाजाको तालमा झुमिरहेका, कोही गीत गाइरहेका, कोही नाचिरहेका । लाग्थ्यो दिल्लीको त्यो कुनामा सिंगो नेपाल झरेर बसेको छ । दिउँसो १ बजेदेखि सुरु भएको कार्यक्रम साँझ ८ बजेसम्म लगातार रमाइलो र उत्साहकै बीच चलिरह्यो ।

यस पटकको तीज महोत्सवमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूलाई ‘राष्ट्रिय सम्मान २०२५’ बाट सम्मान गरिएको थियो । नेपाली साहित्य पुरस्कार गद्यमा निरंकार थापा, पद्यमा रेवती रमण तिम्सिना, पत्रकारितामा प्रदीप रसाईलीलाई सम्मान गरियो भने गोरखाको गौरव किरण रसाईलीलाई लाइफ टाइम अचीभमेन्ट अवार्ड दिइयो । यस्तै समाजसेवामा सुशान्त बस्नेत, अस्मिता राई र धनकुमारी क्षेत्रीलाई पनि सम्मान गरियो । यी सबै सम्मानहरू प्रमुख अतिथि अशोक ठाकुर र विधायक अनिल शर्माको हातबाट प्रदान गरिएको थियो ।

सांस्कृतिक प्रस्तुतिहरूले भने साँच्चिकै दर्शकलाई मन्त्रमुग्ध बनाए । गायक राजन कार्की, गायिका रीना केसी, देउडा गायिका संगिता शाह , विक्रम खत्रीका गीतहरूमा दर्शकहरू नाचे, पश्चिम बंगालबाट आएका कलाकार रजनी सुन्दास र रञ्जिता सुनारले पनि सुन्दर प्रस्तुति दिए । दिल्लीकै डान्स समूह डी–युनिक डान्स एकेडेमी, NUCT ग्रुप र HST ग्रुपले प्रस्तुत गरेका मारुनी र देउडा नृत्यहरू दर्शकले ताली ताली स्वागत गरे विभिन्न गुरुप नृत्य हरु देखेर उपस्थित सम्पुर्ण दर्शकहरुले हुटिङ्ग गरिरहेका थिए भने गायनमा पनि कलाकार हरुको प्रस्तुतिले आम दर्शक निकै रमाइलो गरिरेहेका थिए । कार्यक्रममा विधायक अनिल शर्मा समेत कलाकारलाई सम्मान गरेर वातावरणलाई अझ उत्साहपूर्ण बनाएका थिए ।

तीज भनेकै महिलाको आत्मबल, निष्ठा र संस्कृतिप्रतिको आस्थाको पर्व हो । यस दिन शिव–पार्वतीको पूजा गर्दै उपवास बस्ने परम्परा रहिआएको छ । गीत–संगीत, नृत्य र भक्ति मिसिएको यो पर्वलाई हाम्रा दिदीबहिनीहरूले आत्मीयतापूर्वक मनाउने गर्छन् । दिल्लीमा बसेर पनि आफ्नो संस्कृति, भाषा र परम्परा भुलिएको छैन भन्ने प्रत्यक्ष अनुभूति यस कार्यक्रमले गराएको थियो ।
उक्त कार्यक्रममा नेपाली सारी, दौरा सुरुवाल, गुनु चोली, आ-आफ्नो भेषभुषामा नेपाल, सिकिम,दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँ हरु बाट धेरैको उपस्थिति रहेको थियो हेर्दा लाग्थ्यो यो नेपाल बाहिरको एउटा अलग नेपाल थियो।
कार्यक्रमको प्रेरणा अधिवक्ता प्रेम क्षेत्रीको पहलमै आएको बताइएको थियो भने महासचिव अनीता क्षेत्री, कार्यकारी अध्यक्ष शिवलाल ज्ञवाली , महिला समिति अध्यक्ष अनीता ज्ञवाली र सम्पूर्ण कार्यकारिणी सदस्यहरूको सक्रियता बिना यो सम्भव हुने थिएन सम्पुर्ण संस्थाका पदाधिकारीको निकै सक्रियता उक्त कार्यक्रम देखन सकिन्थ्यो भने महासचिव अनिता क्षेत्री आफै पनि फिल्डमा काम गरिरहनु भएको थियो ।
मंच सञ्चालन प्रा. डा. युवराज भट्टराईको थियो उहाँले आकर्षक शैलीमा कार्यक्रम सञ्चालन गर्नु भएकोले कार्यक्रम अझै व्यवस्थित र रोचक देखन सकिन्थ्यो ।
२०१२ मा स्थापना भएको हाम्रो स्वाभिमान ट्रस्टले विगत १२ वर्षदेखि निरन्तर नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्दै आएको छ । दिल्लीमा बस्ने नेपाली, भारतवासी नेपाली समुदायलाई एउटै मञ्चमा ल्याएर एकता र सहकार्यको सन्देश दिने उद्देश्यले हरेक वर्ष तीज महोत्सव आयोजना गर्ने गरेको छ । यस वर्ष पनि हजारौं नेपालीहरूको सहभागिता र ताली–जयकारबीच सम्पन्न भएको १२औं हरितालिका तीज महोत्सव केवल पर्वको रमझम मात्र नभई साहित्य, पत्रकारिता र समाजसेवामा योगदान दिने व्यक्तित्वहरूको कदर गर्ने साझा मंच समेत बनेको थियो ।


