दैलेख – पश्चिम दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–८ की १३ वर्षीय एक बालिकामाथि गए बिहीबार राति सामूहिक यौनजन्य हिंसा भएको जिल्ला प्रहरी कार्यालय दैलेखले पुष्टि गरेको छ।

प्रहरीका अनुसार सोही गाउँका करिब २३ र २४ वर्षका दुई युवाले तीजको नाच हेरेर घर फर्किँदै गरेकी बालिकालाई समूहमा लखेटे। लखेट्ने क्रममा ढुंगाले हानेर उनको दाहिने पाखुरामा चोट पुर्याएपछि उनी ढलिन्। उनका साथीहरू भने भाग्न सफल भए।
ढलेकी बालिकालाई आरोपितले एकान्तमा लैजाई पालैपालो यौन दुर्व्यवहार गरेको जनाइएको छ। घटनापछि भागेका ती युवाहरूमाथि शुक्रबार पीडित पक्षले जाहेरी दिएपछि प्रहरी निरीक्षक तथा सूचना अधिकारी लालबहादुर सुनारको नेतृत्वमा दुवैलाई पक्राउ गरिएको हो।
बालिकाका साथीहरूले तत्काल अभिभावकलाई जानकारी दिएका थिए। अभिभावक र गाउँले घटनास्थल पुगेको खबर पाएपछि आरोपित भागेका र बालिका बेहोश अवस्थामा भेटिएकी थिइन्। उनलाई राति नै उद्धार गरी जिल्ला अस्पताल दैलेखको ओसीएमसीमा उपचारका लागि पुर्याइएको थियो।
चोटपटकका साथै गम्भीर मानसिक तथा शारीरिक असर परेकाले बालिकाको नियमित चिकित्सकीय निगरानी भइरहेको अस्पतालले जनाएको छ। यता पीडित पक्षले उपचारकै क्रममा विभिन्न धम्की र त्रास दिइएको आरोप लगाएका छन्।
पीडितलाई आश्रय र कानूनी सहयोग ‘सोसेक नेपाल’ले गरिरहेको छ। न्यायका लागि पीडित परिवारले सम्बन्धित निकायसँग सहयोग मागेका छन्।
स्थानीयका अनुसार तीजजस्ता पर्वका अवसरमा गाउँमा रातिको समयमा हुने नाचगानका बीचमा यस्ता यौनजन्य हिंसाका घटनाहरू दोहोरिने गरेका छन्। कतिपय अवस्थामा पीडितलाई बदनाम हुने डर देखाई घटना लुकाउने प्रवृत्तिले अपराधीको मनोबल बढाउने गरेको सरोकारवालाहरूको भनाइ छ।
