काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा फेरि एकचोटि नयाँ खालको विद्रोह आवश्यक रहेको बताएका छन्। शहीद स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्र विरुद्ध प्रतिकार गर्न नयाँ विद्रोह अपरिहार्य भएको उल्लेख गरे।

अध्यक्ष दाहालले भने, “आज हामी बल गर्दै छौँ। देशभक्तिलाई, क्रान्तिकारी, वामपन्थीलाई जोडेर प्रतिक्रियावादीहरुको षड्यन्त्रहरूको प्रतिवाद गर्ने कोशिश गरेका छौँ। हाम्रो वर्गसँग जोडिने बल गर्दै छौँ। मलाई त जनयुद्धको तयारी, जनयुद्ध, शान्ति सम्झौता, संविधानसभा हुँदै यहाँसम्म जीवित रहन सकेको र नेतृत्वमा पनि भइराखेको कारणले पनि एकचोटि फेरि क्रान्ति, नयाँ खालको विद्रोहद्वारा प्रतिक्रियावादीहरूलाई परास्त गर्नुपर्छ भन्ने सङ्कल्पसहित हामी हिँडिराखेका छौँ। मैले गर्ने प्रतिबद्धता पनि यही नै हो।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको राजनीतिक इतिहासमा एक प्रमुख पात्रका रूपमा चिनिन्छन्। विसं २०५२ सालबाट सुरु भएको दशक लामो जनयुद्धका सर्वोच्च कमाण्डरको रूपमा उनले राज्यसत्ता विरुद्ध क्रान्ति संचालन गरे। त्यही जनयुद्धको उपत्यकाबाट सुरु भएको संघर्ष शान्ति प्रक्रियामा परिणत भई २०६३ मा विस्तृत शान्ति सम्झौतामा पुगेको थियो। त्यसपछि उनी मुलधारको राजनीतिमा प्रवेश गरेर प्रधानमन्त्री समेत भए।
वर्तमान परिस्थितिमा प्रचण्डले विद्रोहको कुरा गर्नु, खासगरी प्रतिक्रियावादी शक्तिहरूको षड्यन्त्रको प्रतिवादको सन्दर्भमा, मौजुदा राजनीतिक अस्थिरता, सत्ता समीकरणका उठापटक र वाम आन्दोलनभित्रको विभाजनलाई संकेत गरेको विश्लेषण गर्न सकिन्छ । उनले ‘नयाँ खालको विद्रोह’ भन्नु सशस्त्र संघर्ष होइन, सशक्त संगठनात्मक र वैचारिक अभियानतर्फ संकेत हुन सक्ने आँकलन गर्न सकिन्छ ।
कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उनीहरूको सपना पूरा नभएसम्म संघर्ष जारी रहने बताए। उनले पछिल्ला वर्षमा प्राप्त उपलब्धिहरू रक्षा गर्नु र नयाँ पुस्तालाई परिवर्तनको यात्रामा सहभागी गराउनु पनि आफ्नो दायित्व भएको उल्लेख गरेका थिए ।
