लुम्बिनी २५ असार — लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले विदेशी काठको आयात तत्काल रोक्नुपर्ने र नेपाली काठको उच्चतम प्रयोग गर्नुपर्ने बताएका छन्। अर्घाखाँचीको शितगङ्गा–११ स्थित गैडे सामुदायिक वनको निरीक्षणपछि बिरपुरमा आयोजित स्वागत समारोहमा बोल्दै मन्त्री कलवारले वन क्षेत्रको दिगो व्यवस्थापन गर्दै स्वदेशी काठलाई प्राथमिकता दिने स्पष्ट नीति ल्याइने जानकारी दिएका छ्न।

उनले भने, “नेपालको काठ जंगलमै कुहिरहेको छ, तर हामी विदेशी काठ किन्न बाध्य छौं। यसले वर्षेनी अर्बौं रुपैयाँ बाहिरिन्छ। अब समय आएको छ – स्वदेशी काठलाई रोज्ने।”
मन्त्रीका अनुसार नेपालजस्तो ४५ प्रतिशतभन्दा बढी वनक्षेत्र भएको देशले ६ वर्षमा ३८ अर्बभन्दा बढीको काठ आयात गरिसकेको तथ्य चिन्ताजनक छ। उनले नेपाली काठ गुणस्तरीय र मूल्यवान भएको दाबी गर्दै बजारमा ल्याउन सके मूल्य घट्ने बताएका थिए ।
कार्यक्रममा डिभिजन बन कार्यालय प्रमुख मोहन प्रसाद श्रेष्ठ, वन महानिर्देशक प्रभात सापकोटा, भू–जलाधार कार्यालय प्रमुख सम्भु झा, वरिष्ठ अधिकृत उमेश शाह, चन्द्र बहादुर भाट, सहायक अधिकृत केसव खड्का लगायत बनकर्मी, उपभोक्ता र पत्रकार महासंघका पदाधिकारीको उपस्थिति रहेको थियो।
गैडे सामुदायिक वनले उपभोक्ताको लगानीबाट गरेको विकासकार्यप्रति मन्त्री कलवारले प्रसंसा गर्दै यसलाई अरूका लागि उदाहरणीय बताएका थिए।
