कपिलवस्तु — कपिलवस्तु नगरपालिका–८, दोहनीमा सोमबार दिउँसो ट्याक्टर पोखरीमा खस्दा दुई महिलाको मृत्यु भएको छ। नम्बर नखुलेको ट्याक्टर चिप्लिएर पोखरीमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पश्चिम बेलौहा निवासी २० वर्षीया दुर्गावती कोरी र ४५ वर्षीया दुर्गावती कोरीको मृत्यु भएको हो। ट्याक्टरमा चालकसहित ६ जना सवार थिए। पोखरीमा डुबेका बेला दुई जना महिलाहरू ट्याक्टरमा च्यापिएका थिए।
उनीहरूलाई उद्धार गरी कपिलवस्तु अस्पताल लगिएकोमा उपचारको क्रममा दुवैको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। अन्य तीन जना घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन्। पोखरीमै डुबेका कारण ट्याक्टरको नम्बर अझै खुल्न सकेको छैन। हाल घटनाको अनुसन्धान जारी रहेको र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
