काठमाडौं — इजरायल–हाम्रो देशबाट टाढा भए पनि त्यहाँको युद्धका छायाले नेपाली नागरिक पनि प्रत्यक्ष प्रभावित भएका छन्। यस्तैमा अहिले इजरायलमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला पराजुली सात दिनदेखि युद्धको त्रासमा दिन काटिरहेका छन्।

मेयर पराजुली एक अन्तर्राष्ट्रिय कार्यक्रमका सिलसिलामा इजरायल पुगेका थिए। तर त्यहीबीच इजरायल इरान र हिज्बुल्लाहबीचको संघर्ष चर्किएपछि उनी समेत बंकरमा शरण लिन बाध्य भएका छन्।
“यहाँको अवस्था निकै त्रासदीपूर्ण छ। बंकरमा बसेर रात बिताउनुपरेको छ,” मेयर पराजुलीले सञ्चारकर्मीलाई भिडियो सन्देशमार्फत बताएका छ्न ।
उनले थपे, “हामी जहाँ कार्यक्रमका लागि आएका थियौं, त्यही क्षेत्र अहिले आक्रमणको दायरामा परेको छ। सुरक्षाको निम्ति सबैजना बंकरमै लुकेर बसेका छौं।”
नेपाली सरकारलाई अपिल विराटनगरका मेयरले इजरायलमा रहेका अन्य नेपाली नागरिकको अवस्थाबारे चासो व्यक्त गर्दै सरकारसँग तत्काल पहल गर्न आग्रह गरेका छन्।
“यहाँ रहेका अन्य नेपाली नागरिकहरूको सुरक्षाका लागि सरकारले तत्काल पहल गर्नुपर्छ,” उनले भने।
यता परराष्ट्र मन्त्रालयको सक्रियतामा इजरायलमा रहेका नेपाली नागरिकको अवस्थालाई मध्यनजर गर्दै परराष्ट्र मन्त्रालयले तिनलाई स्वदेश फर्कने चाहना भएमा विशेष पोर्टलमा नाम दर्ता गर्न आग्रह गरिसकेको छ। त्यस्तै, सुरक्षा अवस्थाबारे नेपाल सरकारले गृह, श्रम तथा पर्यटन मन्त्रालयसँग संयुक्त बैठक पनि गरिसकेको छ।
