काठमाडौं, – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजावादीहरूको शान्तिपूर्ण आन्दोलनलाई कमजोरी ठानिए कडा परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्। आइतवार राजधानी काठमाडौंमा आयोजित विरोध प्रदर्शनमा सहभागीहरूलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देशले थप द्वन्द्व थेग्न नसक्ने भएकाले आफूहरूले विद्रोहको बाटो नरोजेको स्पष्ट पारेका हुन्।

अध्यक्ष लिङ्देनले भने , “देशले थप द्वन्द्व थेग्न सक्दैन भनेर हामीले विद्रोहको बाटो नरोजेको हो। हामीले शान्तिपूर्ण प्रदर्शन गरेको हो। यसलाई कमजोरी नठानियोस्। आज दुईचार हजार युवा बन्दुक बोकेर जंगल पस्न छैनन् होला त यो अभियानमा? हामीले दुईचार ठाउँ तोडफोड गर्न सक्दैनौँ होला त? हामीले त्यो चाहेकै छैनौं।”
उनले राज्यसत्ताको दुरुपयोग गर्दै प्रमुख दलहरूले भ्रष्टाचार र अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण दिइरहेको आरोप लगाए। लिङ्देनले विशेष गरी अदालत र प्रहरी प्रशासनलाई “आफ्ना मान्छेलाई जोगाउने र अरूलाई फसाउने” प्रयोजनका लागि प्रयोग गरिएको आरोप समेत लगाए।
“इँटाभट्टामा जिउँदै मान्छे जलाउनेलाई अदालतको नाममा छाडिएको कुरा हामीलाई मात्रै होइन, प्रहरीलाई पनि थाहा छ,” उनले भने।
कमल थापाको गिरफ्तारीको विरोध
प्रदर्शनका क्रममा राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा पनि अध्यक्ष लिङ्देनले कडा आपत्ति जनाएका छन्। उनले थापालाई तत्काल ससम्मान रिहा गर्न माग गर्दै भने, “कमल थापा पूर्व गृहमन्त्री, पूर्व उपप्रधानमन्त्रीसमेत हुनुहुन्छ। उहाँलाई सडकबाट गिरफ्तार गर्नु सरकारको नैतिक दिवालियापन हो।”
उक्त प्रदर्शनमा नेता हरु पक्राउ आन्दोलन शान्तिपूर्ण, तर आक्रोश तीव्र
राप्रपाको आयोजनामा भएको आइतवारको प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भए पनि नाराबाजी र सडक जुलुसमा सहभागिता उल्लेखनीय देखिएको थियो। राजसंस्था पुनःस्थापनाको माग गर्दै गरिएको यो प्रदर्शनमा हजारौं समर्थक उपस्थित भएका थिए।
प्रदर्शनमा सरकार विरोधी नारासहित हिन्दुराष्ट्र, राजसंस्था र संविधान संशोधनका मागहरू उठाइएका थिए। लिङ्देनले यी मागहरू सम्बोधन नभए आन्दोलन थप सशक्त बनाउने चेतावनी समेत दिएका छन्।
