काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र महानगरका प्रवक्ता नवीन मानन्धरबीचको सम्बन्ध अहिले टक्रावको चरम अवस्थामा पुगेको छ। डेढ महिनाअघि Yoho TV लाई दिएको एक अन्तरवार्तामा व्यक्त विचारलाई लिएर मेयर बालेनले मानन्धरलाई लिखित माफी माग्न सात दिनको समय दिए पनि, सो समय आज सकिँदै गर्दा मानन्धर भने स्पष्ट अडानमा उभिएका छन्—“म केही गलत बोलेको छैन, माफी माग्दिनँ।”

मानन्धरले चैत २३ गते वरिष्ठ सञ्चारकर्मी जीवराम भण्डारी सँगको कुराकानीमा मेयर बालेनमाथि खुलेरै प्रश्न उठाएका थिए। अन्तरवार्ताको सुरुदेखि अन्त्यसम्म उनले बालेनको कार्यशैली, निर्णय प्रक्रिया र सार्वजनिक व्यवहारमाथि आलोचना गरे। विशेषतः प्रशासकीय प्रमुख सरोज गुरागाईंको पुनः नियुक्तिको बेला उत्पन्न विवाद, मेयर बालेनको अनुपस्थितिमा कार्यवाहक जिम्मेवारी नदिएको प्रसंग, र कार्यपालिका बैठक विनाको निर्णय प्रक्रियालाई लिएर उनले कडा प्रतिक्रिया दिएका थिए।
“मेयर कालिन्चोक जानुभएको थियो। काठमाडौंबाहिर जानुहुन्छ, तर उपमेयरलाई कार्यवाहक दिँदैन,” भन्दै उनले मेयरको प्रशासनिक असंवेदनशीलता देखाएको आरोप लगाए। पत्रकार भण्डारीले सोधेका प्रश्नहरूको जवाफ दिंदै मानन्धरले भने, “हामी इगो चलाउने ठाउँमा छैनौं। संस्थागत प्रक्रियाले नै महत्त्व पाउनु पर्छ।”
यही अन्तरवार्तामा उनले मेयरको बोलीप्रति समेत कटाक्ष गरे। “हाम्रो सभापति (शेरबहादुर देउवा) ले सुपारी चपाएर बोलेको जस्तो भनेर उहाँले भन्नुभएको थियो। तर आफूले हलमा फिल्म हेर्न जाँदा बोलेको हामीले बुझेका थियौँ? सुपारी कसको मुखमा थियो?” भन्दै उनले प्रतिप्रश्न गरे।
अन्तरवार्ताको बिचमा पत्रकार भण्डारीले सोधे, “अहिले मेयर बालेन कहाँ व्यस्त हुनुहुन्छ?”
त्यसपछि मानन्धरले आफ्नो मोबाइलबाट एक तस्बिर देखाए, जसमा बालेन एक युवतीसँग आत्मीय मुद्रामा देखिन्छन्। ती युवती सार्वजनिकरूपमा चिनिएकी नभए पनि, पछि खुलासा भए अनुसार उनी डीजे ज्यास्मिन खनाल हुन्, जसले ती तस्बिरहरू आफ्नै इन्स्टाग्राममा पोस्ट गरेकी थिइन्।
भण्डारीले जिज्ञासा व्यक्त गरे, “यो तस्बिर कहाँको हो, कोसँग हो?”
मानन्धरले जवाफ दिए, “मलाई थाहा छैन। पत्रकारले सेन्ड गरेका हुन्। म आफैंले खिचेको हैन। देखाएको मात्र हुँ।”
तस्बिर देखाउने क्रममा भण्डारीले आग्रह गरे, “थप जुम गरेर देखाइदिनुस् न, दर्शकलाई पनि थाहा होस्।”
मानन्धरले तस्बिर जुम गरेर क्यामरातर्फ देखाए र भने, “हामीले कहिले प्रश्न उठायौं कि मेयर आज कहाँ छन्, के गर्दै छन्? कार्यवाहक दिनुपर्दैन?”

यही तस्बिरकै कारण बालेनले आफूलाई अपमानित महसुस गरेको मानन्धरको अनुमान छ। “पत्रमा फोटोको कुरा लेखिएको छैन, तर उहाँले नजिकका व्यक्तिहरूलाई फोटो किन देखायौ भनेर सोध्नुभएको रहेछ,” मानन्धरले बताए।
यस घटनापछि बालेनले मानन्धरलाई लिखित पत्रमार्फत माफी माग्न भनेका थिए र चेतावनी दिएका थिए—यस्ता अभिव्यक्तिहरू दोहोरिएमा फौजदारी मुद्दासमेत लाग्न सक्छ। यद्यपि, प्रवक्तासँग औपचारिक स्पष्टीकरण मागिएको छैन। माफीको सट्टा मानन्धर भने थप जुझारु देखिन्छन्। “मैले के गल्ती गरेँ? म किन माफी माग्ने?” भन्दै उनले उल्टै प्रतिप्रश्न गरे।
बालेन मानन्धरलाई प्रवक्ताबाट हटाउने तयारीमा रहेको चर्चा पनि चलेको छ। तर, मानन्धरको भनाइमा यो सजिलो छैन। “प्रवक्ताबाट हटाउन कार्यपालिका बैठक बस्नुपर्छ। बहुमतको निर्णय आवश्यक हुन्छ। एकल निर्णय मान्य हुँदैन,” उनले स्पष्ट पारे।
साथै, मानन्धरले महानगरभित्र बालेनले विभागीय हेरफेर तथा निर्णयहरू कार्यपालिका बैठक बिना एकल ढंगले गरेको भन्दै त्यसको वैधानिकता नै प्रश्न गरेका छन्। “अब बस्ने कार्यपालिकामा ती सबै निर्णयहरूको जवाफ मागिनेछ,” उनको भनाइ छ।
प्रवक्ता र मेयरबीचको यो टकरावले काठमाडौं महानगरपालिकाको भित्री शक्ति संघर्ष छ्ताछुल्ल बाहिर ल्याएको छ। संस्थागत प्रक्रियालाई नजरअन्दाज गर्ने शैली, व्यक्तिगत प्रतिक्रियामा आधारित निर्णय र सार्वजनिक छवि व्यवस्थापनका नाममा उठाइएका कदमहरूले अब यो विवाद राजनीतिक–प्रशासनिक मोडमा प्रवेश गरिसकेको देखन सकिन्छ । अब इ दुई बिचको टकराबको निर्णायक मोड कार्यपालिका बैठक हुनेछ ।
