कपिलवस्तु, – कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित ग्यालेरीटोलाबाट श्रोत नखुलेको ठूलो परिमाणको नगदसहित एक जना व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बैशाख १४ गते साँझ ५:०० बजे चन्द्रौटा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा ४२ लाख १० हजार ४४४ रुपैयाँ फेला पारेको हो।

पक्राउ परेका व्यक्ति भारत बलरामपुर जिल्ला तुलसीपुर ग्रामसमूह निवासी ३२ वर्षीय आशिष कुमार साहनी रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। साहनीले साथमा बोकेको नगदमध्ये नेपाली रुपैयाँ २४ लाख १० हजार र भारतीय रुपैयाँ १६ लाख ५ हजार ४४४ रहेकाे पाइएको छ। यी रकमहरू भारतीय र नेपाली दुवै नोटमा छुट्टाछुट्टै रूपमा बरामद गरिएको हो।
पक्राउ परेका साहनी र उनीसँग फेला परेका रकमलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
प्रहरीका अनुसार बरामद भएको रकमको श्रोत नखुलेपछि साहनीलाई आवश्यक अनुसन्धानका लागि थप प्रक्रियामा अगाडि बढाइएको जनाइएको छ ।
