सैनामैना – रुपन्देहीको सैनामैनामा आयोजित प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्दै कपिलवस्तुले ऐतिहासिक सफलता हासिल गरेको छ।

बुधबार सैनामैना रंगशाला, मुर्गियामा सम्पन्न फाइनल खेलमा कपिलवस्तुले अभिषेक चर्च रजहर, नवलपुरलाई १-० ले पराजित गर्दै च्याम्पियन बनेको हो। खेलको ५२औं मिनेटमा मोहम्मद मोहम्मद इन्द्रेसले गरेको एकमात्र गोल निर्णायक बन्यो। पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो।
उपाधिसँगै कपिलवस्तुले नगद सात लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता अभिषेक चर्चले चार लाख रुपैयाँमा चित्त बुझाएको छ।
प्रतियोगितामा कपिलवस्तु पाँच जना र अभिषेक चर्च चार जना विदेशी खेलाडीसहित मैदानमा उत्रिएका थिए।
यो प्रतियोगिता मुर्गिया फुटबल क्लबको आयोजनामा खेल संयोजक अशोक खड्काको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यतामा सभ्य र भव्य रूपमा सम्पन्न भएको थियो।
जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापा, कोषाध्यक्ष सुसिल सिंह ठकुरी, शंकर कार्की लगायतका पदाधिकारीहरूले यो जित कपिलवस्तुको फुटबल इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनीहरूको भनाइमा, यस सफलताले फुटबलप्रति स्थानीय क्रेज बढाउनेछ र नयाँ प्रतिभाशाली खेलाडी उत्पादनका लागि कोशेढुंगा सावित हुनेछ। साथै, कपिलवस्तुलाई खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर पनि प्राप्त हुने उनीहरूको धारणा छ।

