नयाँ दिल्ली – दिल्लीको मुख्यमन्त्रीका रूपमा रेखा गुप्तालाई ( भाजपा ) भारतीय जनता पार्टीले चयन गरेको छ । भारतीय जनता पार्टी (भाजपा) का ४८ नव-निर्वाचित विधायकहरूको बैठकले गुप्ताको नाममा सहमति जनाउँदै उनलाई दिल्लीको नयाँ मुख्यमन्त्रीका रूपमा चयन गरेको छ । मुख्यमन्त्री चयन भएसँगै रेखा गुप्ता दिल्लीका उपराज्यपाल वीके सक्सेनासँग भेट गरी सरकार बनाउने दाबी पेश गर्ने जनाइएको छ ।

बिहीबार दिउँसो रामलीला मैदानमा गुप्ता सहित मन्त्रीपरिषद्का अन्य ६ सदस्यहरूले पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम रहेको छ। शपथ ग्रहण समारोह रामलीला मैदानमा आयोजना गरिँदैछ, जसका लागि व्यापक तयारी भइरहेको छ। समारोह स्थलमा तीनवटा मञ्च बनाइएका छन्। मुख्य मञ्चमा प्रधानमन्त्री नरेन्द्र मोदी, उपराज्यपाल वीके सक्सेना तथा नवनिर्वाचित मुख्यमन्त्री उपस्थित रहनेछन्।
यसै गरि दोस्रो मञ्च धर्मगुरुहरूको लागि तोकिएको छ भने तेस्रो मञ्च सांसद तथा विधायकहरूको लागि छुट्याइएको छ। शपथ ग्रहण समारोहमा करिब एक लाख मानिसको उपस्थिति रहने अपेक्षा गरिएको छ। तीमध्ये ५० हजार व्यक्ति समारोहस्थल भित्र तथा ५० हजार बाहिर रहने बताइएको छ । समारोहमा सुरक्षाको कडा प्रबन्ध गरिएको छ, जहाँ विशेष अतिथिहरूको प्रवेशका लागि चारवटा विशेष गेट निर्माण गरिएका छन्। मेटल डिटेक्टर जडान गरी कडा सुरक्षा जाँचपछि मात्र प्रवेश दिइने बताइएको छ ।
समारोह अवधिभर राजधानी उच्च सतर्कतामा रहनेछ। मुख्यमन्त्री पदका लागि विभिन्न नेताहरूको चर्चा चलेको थियो। पूर्व सीएम अरविन्द केजरीवाललाई पराजित गरेका प्रवेश वर्मा, पूर्व नेता प्रतिपक्ष विजेन्द्र गुप्ता, सतीश उपाध्याय, पवन शर्मा, आशीष सूद, मनजिन्दर सिंह सिरसा, शिखा राय, अजय महावर, जितेन्द्र महाजन, रविन्द्र इन्द्राज, कैलाश गंगवाल र करनैल सिंह सैनीका नाम चर्चामा थिए। सांसदहरूको हकमा मनोज तिवारी पनि सम्भावित उम्मेदवार थिए। भारतीय निर्वाचन आयोगले फेब्रुअरी ५ मा दिल्ली विधानसभा चुनावको घोषणा गरेको थियो। ८ फेब्रुअरीमा सम्पन्न मतगणनामा भाजपाले ४८ सिट हासिल गर्दै बहुमत प्राप्त गर्यो। आम आदमी पार्टी (आप) ले २२ सिट मात्रै जित्न सक्यो भने कांग्रेसले लगातार तेस्रो पटक खाता खोल्न असफल रह्यो। करिब २७ वर्षपछि दिल्लीमा भाजपाले अत्याधिक बहुमतसहित भोलि सरकार बनाउने भएको छ ।
