रुपन्देही – रुपन्देहीको सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयले आफ्नो ५१औं वार्षिकोत्सवलाई भव्य रूपमा मनाउने तयारी गरेको छ। विद्यालयले साताव्यापी अतिरिक्त क्रियाकलाप कार्यक्रम सञ्चालन गर्दै विद्यार्थीको प्रतिभा निखार्ने उद्देश्य राखेर विभिन्न कार्यक्रम सहित मनाउने योजना बनाएको छ ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष शिवलाल बस्याल र प्रधानाध्यापक नेत्रलाल पुरीले एक समारोहबीच कार्यक्रमको उद्घाटन गर्नुभएको छ करीब २७०० विद्यार्थी विभिन्न शैक्षिक, खेलकुद र सांस्कृतिक प्रतिस्पर्धामा सहभागी हुने ब्यवस्थापन समितीले जनाएको छ ।
नयाँ विशेषता पञ्चेबाजा तालिम र व्यवसायिक अवसर यस वर्षको वार्षिकोत्सवलाई विशेष बनाउन विद्यालयले पञ्चेबाजा तालिम कार्यक्रम सुरु गरेको छ। कक्षा ७ देखि १२ सम्मका विद्यार्थीलाई यो तालिम दिइनेछ। विद्यालयले बाजा उपलब्ध गराउने मात्र होइन, सिकेका विद्यार्थीहरूलाई व्यवसायिक रूपमा बजाउन मद्दत गर्ने योजना बनाएको जनाइसकेको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बस्यालका अनुसार, “पढ्दै सिक्दै र कमाउँदै” अवधारणालाई व्यवहारमा उतार्ने यो प्रयास नयाँ शिक्षामार्गको पर्यास रहेको बताउनु भएको छ । त्यस्तै प्रधानाध्यापक पुरीका अनुसार, विद्यार्थीको प्रतिभा र क्षमताअनुसार विशेष तालिम सञ्चालन गरिने बताउनु भएको छ ।
अतिरिक्त क्रियाकलाप संयोजनको जिम्मेवारी शिक्षक टीकाराम सुवेदीलाई दिइएको छ। खेलकुदतर्फ एथलेटिक्स, फुटबल, भलिबल, क्रिकेट, बास्केटबल लगायतका प्रतियोगिता आयोजना गरिनेछ। सांस्कृतिक कार्यक्रमअन्तर्गत भजन, लोकनृत्य लगायतका विधामा प्रतिस्पर्धा गराइने बताइएको छ ।
विद्यालयको उक्त नविनतम् पहलले शिक्षा र सीपलाई जोड्ने नयाँ ढोका खोलेको अनुमान गर्न सकिन्छ । यो कार्यक्रमले विद्यार्थीहरूलाई सिर्जनशीलता र आत्मनिर्भरता सिकाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा रहेको प्रधानाध्यापक नेत्र लाल पुरिले बताउनु भएको छ ।


