काठमाडौं — काठमाडौंको दक्षिणकाली नगरपालिका–४ मा आइतबार दिउँसो विद्यार्थी बोकेको बस गहिरो खोंचमा खस्दा दुई जनाको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्।

दुर्घटनामा परेका घाइतेमध्ये ३५ वर्षीय बस चालक रामकृष्ण थापा मगर र ८ वर्षीय विद्यार्थी विपिन श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो। थापा मगरको दक्षिणकाली नगर अस्पतालमा र श्रेष्ठको ट्रमा सेन्टरमा निधन भएको प्रहरीले जनाएको छ।
बा १ क ५६६४ नम्बरको जुनकिरी स्कुलको बस विद्यालय छुट्टीपछि विद्यार्थीहरू बोकेर गन्तव्यतर्फ जाँदै गर्दा अपराह्न साढे ३ बजे सडकबाट १०० मिटर तल खसेको थियो।
दुर्घटनामा घाइते भएका अन्य विद्यार्थी र केही शिक्षकमध्ये केहीको अवस्था गम्भीर रहेको छ भने उनीहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
