बाबुराम पाण्डे
गजल
हामीभित्र असल विचार र सभ्य शिष्ट संस्कार भएपछि
कसैले नि औँला उठाउन्न हेर्नुस् आफू इमान्दार भएपछि ।

जनता पनि विद्रोहको मसाल बोकेर सडकमा निस्कन्छन्
राज्यबाटै ठुला ठुला काण्ड अनि सधैँ भ्रष्टाचार भएपछि ।
योग्य र दक्ष मान्छे किन विदेश गए भन्छन् सबैले अचेल
जान बाध्य भए यहाँ जागिर चाकरीअनुसार भएपछि ।
दुश्मनले पनि मलाई आक्रमण गर्न छाड्यो आजभोलि
धेरै पटक आक्रमण गर्दा पनि उसको हार भएपछि ।
एउटा कमजोरी भए जसले पनि माफी दिन सक्थ्यो होला
कसले सक्छ माफी दिन गल्ती कमजोरी हजार भएपछि ?
