नारायण प्रसाद गैरे अर्घाखाँची

सन्धिखर्क, अर्घाखाँची – सन्धिखर्क इङ्गलिस बोर्डिङ्ग स्कुलको २०८१ सालको १६औं वार्षिकोत्सव, अभिभावक दिवस, नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।
नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले कार्यक्रमको उद्घाटन पनसमा बत्ती बालेर गर्नुभयो। प्रमुख अतिथिको रुपमा उपस्थित नगर प्रमुख श्रेष्ठले विद्यालयले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सशक्त र प्रभावकारी बनाउन सरोकारवाला सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो।
विद्यालयका प्रवन्ध निर्देशक श्रीकृष्ण भुसालले शैक्षिक सत्र २०८१ का उपलब्धिहरू प्रस्तुत गर्दै विद्यालयको भावी योजना र कार्यदिशाबारे जानकारी दिनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष द्रोण प्रसाद भुसालको अध्यक्षता, संचालक समितिका अध्यक्ष राम बहादुर रायमाझीको विशिष्ट आतिथ्यता, प्रिन्सिपल शालिकराम भुसालको स्वागत मन्तव्य तथा शिक्षक श्रीजना गहतराजको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा अतिरिक्त क्रियाकलाप, कक्षा प्रथम, द्वितीय, तृतीय, कक्षागत सर्वाधिक उपस्थिति, अनुशासन, पोशाक तथा सरसफाई लगायतका विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो।
यसैक्रममा, कक्षा ७ की छात्रा काम्या के.सी.ले ‘Student of the Year’ को उपाधि प्राप्त गरेकी छिन्। दिवङ्गत संस्थापक तथा वरिष्ठ समाजसेवी फर्सुराम पराजुलीको स्मृतिमा उनका सुपुत्र तथा विद्यालयका प्रवर्धक दीपक पराजुलीले सो उपाधिसहित पुरस्कारको व्यवस्था गर्नुभएको थियो। उहाँले हरेक वर्ष यस उपाधिका लागि पुरस्कार प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

संचालक समितिका सदस्य लिल बहादुर राउत क्षेत्रीले अभिभावक, शिक्षक र विद्यार्थीबीचको सुमधुर सम्बन्धले मात्र गुणस्तरीय शिक्षा सम्भव हुनेमा जोड दिनुभयो।
कार्यक्रममा कक्षा ५ की विद्यार्थी एन्डिस्ट्रा बराल, अभिभावक नारायण प्रसाद गैरेलगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने शैक्षिक सत्र २०८२ को विद्यालय क्यालेन्डर सार्वजनिक तथा वितरण गरिएको थियो।

