
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भूभागमा आंशिक बदलीसहित मौसम मुख्यतः सफा रहनेछ। कर्णाली, सुदूरपश्चिमलगायतका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।
यसैगरी, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपात हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम परिवर्तनको असरले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पार्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।।
