काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

महाशाखाले कोशी र लुम्बिनी प्रदेशसहित अन्य पहाडी भूभागमा आंशिक बदली रहने जानकारी गराएको छ भने बाँकी भूभागमा मौसम मुख्यत: सफा रहनेछ। तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने सम्भावना छ।
आज दिउँसो देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ, भने अन्य स्थानमा मौसम खुला रहनेछ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदलीदेखि मौसम सफा रहने अनुमान गरिएको छ। ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने सम्भावना छ।
विशेष गरी बिहानपख तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले यातायात, स्वास्थ्य र जनजीवनमा प्रभाव पर्न सक्ने सम्भावना छ। त्यसैले सतर्कता अपनाउन तथा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
