
काठमाडौं | पश्चिमी वायुको सामान्य प्रभावका कारण देशका केही भूभागमा आंशिक बदली भएको छ। विशेष गरी कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। देशका अन्य भूभागमा भने मौसम सफा रहने अनुमान गरिएको छ।
यसैबीच, बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेकोले यातायात तथा हवाई उडानमा प्रभाव पार्ने चेतावनी दिइएको छ। हुस्सु र कुहिरोको कारण हवाई उडानमा ढिलाइ हुन सक्ने भन्दै नेपाल वायुसेवा निगम (NAC), बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, र समिट एयरले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
मौसम परिवर्तनका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले महाशाखाले सबैलाई सतर्क रहन अनुरोध गरेको छ।
