
काठमाडौं – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको जानकारी दिएको छ। महाशाखाका अनुसार, अहिले कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।
आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ। साथै, बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको संभावना रहेको छ। त्यस्तै, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको संभावना पनि रहेको महाशाखाले जनाएको छ।
आज राति पनि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहन सक्छ, जबकि बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हल्का हिमपातको संभावना रहेको छ।
विशेष गरी बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरोको संभावना रहेको हुँदा यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पार्न सक्छ। यस कारण महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
