
- अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
- मोरङमा हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न अनुमति दिएको विषयमा उक्त मुद्दा दर्ता भएको हो।
- उक्त मुद्दामा ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो दाबी गरिएको छ।
काठमाडौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९७ जनाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मंगलबार विशेष अदालत काठमाडौँमा मोरङमा हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्न लागि नेपाल नेतृत्वको मन्त्रिपरिषदले निर्णय गरेर अनुमति दिएको आधारमा मुद्दा दायर गरिएको हो।

विशेष अदालतकी प्रवक्ता पार्वती हितानका अनुसार मुद्दामा नेपाल, पूर्वमन्त्री मिनेन्द्र रिजालसहित ९७ जनालाई प्रतिवादी बनाइएको छ। मुद्दाका ७३ करोड ४९ लाख ५६ हजार बिगो दाबी गरिएको छ। ५९ बिगा जग्गा सट्टापट्टाका लागि अनुमति दिएको आयोगको दाबी छ।
नेपालविरुद्ध २०८२ जेठ २२ गते काभ्रेमा रहेको पतञ्जलीको जग्गा सट्टापट्टाका लागि अनुमति दिएको भन्दै दायर अर्को मुद्दा विशेष अदालतमै विचाराधीन छ।
