
समाचार सारांश
Auto Generated by AI
- मुगुमा नेपाली कांग्रेसको देउवा समूहको जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ।
- युवा नेता हरी रावल मुगु जिल्लाको पार्टी सचिवमा निर्वाचित भएका छन्।
- यस अधिवेशनले जिल्लामा देउवा पक्षको बलियो संगठनात्मक पकड र एकता प्रदर्शन गरेको छ।
रतन बहादुर रावल मुगु- नेपाली कांग्रेस देउवा समूहको मुगु जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट युवा नेता हरी रावल नेपाली कांग्रेस मुगुको पार्टी सचिवमा निर्वाचित भएका छन्।
मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी निवासी रावल युवा अवस्थामै राजनीतिमा अत्यन्त सक्रिय रहँदै आएका छन्। बौद्धिक अध्ययनशीलता र सामाजिक कार्यहरूमा रुचि राख्ने रावल नेपाल विद्यार्थी संघ (नेविसंघ) मा लामो समयदेखि आबद्ध रही आफ्नो बलियो राजनीतिक जग निर्माण गरेका नेता हुन्।
कर्णाली प्रदेशमा देउवा पक्षको कांग्रेस नेतृत्वलाई अग्रगामी रूपमा अगाडि बढाइरहेका पूर्व वनमन्त्री ऐनबहादुर शाहीको गृहजिल्ला मुगुमा सम्पन्न यस अधिवेशनलाई राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। अधिवेशनमा ठूलो संख्यामा कार्यकर्ताहरूको सहभागिता गराएर देउवा पक्षले जिल्लामा आफ्नो बलियो संगठनात्मक उपस्थिति र राजनीतिक शक्ति प्रदर्शन गरेको छ। यस अधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रियामा मात्र सीमित नराखी पार्टीभित्र आफ्नो सांगठनिक प्रभाव देखाउने महत्त्वपूर्ण अवसरको रूपमा उपयोग गरिएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

आफ्नो प्रभाव क्षेत्र मानिने मुगुमा अधिवेशन सम्पन्न गर्दै देउवा पक्षले जिल्ला नेतृत्वमा सर्वसम्मति कायम गर्न सफल भएको छ, जसलाई संगठनभित्र बलियो एकताको सन्देशका रूपमा हेरिएको छ।
पार्टीभित्र दुई धार स्पष्ट देखिएको अवस्थामा पनि मुगुमा वडा अधिवेशन, पालिका अधिवेशन, प्रदेश (क) र (ख) अधिवेशन हुँदै जिल्ला अधिवेशनसम्म आइपुग्दा सबै प्रक्रिया भव्य र सभ्य रूपमा सफल पारिएको कांग्रेस नेता एवं पूर्व वनमन्त्री ऐनबहादुर शाहीले बताए। नेता शाहीले भने, “पार्टीभित्र देउवा पक्षमा कार्यकर्ताहरूको उत्साह र आकर्षण निकै बढी देखियो। वर्षा र खेतीपातीको व्यस्त समय हुँदाहुँदै पनि वडादेखि जिल्ला अधिवेशनसम्म उत्साहजनक रूपमा सम्पन्न गर्न पाउँदा हामी निकै खुसी छौँ।”
जिल्ला अधिवेशनको सफल समापन र नयाँ नेतृत्वको चयनसँगै मुगु कांग्रेसमा देउवा पक्ष थप सुदृढ र संगठित बनेको कार्यकर्ताहरूले दाबी गरेका छन्।

