
- गुल्मीको रेसुङ्गा विमानस्थल जाने सडक भासिएर पूर्ण रूपमा अवरुद्ध भएको छ।
- निर्माण भएको एक वर्ष नपुग्दै सडक भत्किँदा एक करोडभन्दा बढीको क्षति भएको छ।
- सम्बन्धित निकायले केही दिनभित्रै अस्थायी सडक मार्ग खोल्ने तयारी गरेको छ।
काठमाडौं।गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।


सडक भासिँदा रेसुङ्गा विमानस्थलसँगै तम्घास–सिमीचौर–राङबास–खज्र्याङ हुँदै रिडी जाने सडकसमेत प्रभावित भएको छ।
सिमीचौरमा करिब ८० मिटर पक्की सडक भासिएपछि उक्त सडकखण्डमा यातायात सञ्चालन हुनसकेको छैन।
मोटरसाइकलसमेत जोखिम मोलेर मुस्किलले आवतजावत गरिरहेका छन्।
सडक भासिएपछि रु एक करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। पहिरोका कारण स्थानीय दुईवटा घरसमेत उच्च जोखिममा परेका छन्।
स्थानीय तिलबहादुर कुँवरले पहिरोबाट मुस्किलले ज्यान जोगाएको बताउँदै वर्षा हुँदा कतै घर पनि बगाएर लैजाने हो कि भन्ने त्रास कायमै रहेको बताए।
सघन सहरी विकास कार्यालय पाल्पाले ‘एकीकृत सडक स्तरोन्नति कार्यक्रम’ अन्तर्गत निर्माण गरेको उक्त सडक गत असार मसान्तमा निर्माण सम्पन्न भएको थियो।
निर्माण सम्पन्न भएको एक वर्ष नपुग्दै अविरल वर्षाका कारण सडक भासिएको हो।
सघन सहरी विकास कार्यालयका इन्जिनियर घनश्याम यादवले उक्त सडकमा तत्काल यातायात सञ्चालन सहज बनाउनका लागि एकदुई दिनभित्रै अस्थायी मार्ग खोल्ने तयारी भइरहेको बताए।
