
- नारायणी नदीमा आएको बाढीले बगाएको राइनो क्रुज पुलको पिलरमा अड्किएको छ।
- पुललाई हुन सक्ने जोखिम कम गर्न तीनवटा क्रेनको सहायताले क्रुज निकाल्ने प्रयास भइरहेको छ।
- डेढ वर्षअघि १५ करोड लगानीमा सञ्चालनमा आएको यो नेपालकै पहिलो क्रुजसिप हो।
चितवन।नारायणी नदीमा आएको बाढीले बगाएर सडक पुलको पिलरमा अड्किएको चर्चित ‘राइनो क्रुजसिप’ लाई तीनवटा क्रेनको सहायताले बाहिर निकाल्ने प्रयास सुरु गरिएको छ।

गैंडाकोटतर्फको पिलरमा तीनतले क्रुज अड्किँदा पुलमै क्षति पुग्न सक्ने जोखिम बढेपछि प्रशासनले क्रेनमार्फत तानेर क्रुजलाई सुरक्षित रूपमा गैंडाकोटतर्फकै किनारमा लैजाने प्रयास पारेको हो।
नदीमा आएको ठूलो बाढीका कारण शनिबार साँझ होटल रिभर क्राउन अगाडि बाँधेर राखिएको उक्त क्रुज बगेर पुलको पिलरमा पुगेको थियो।
क्रुज सञ्चालक कम्पनीका अनुसार क्रुजलाई रुखमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका २० एमएमका दुईवटा टुचिन लगाएर बाँधिएको थियो। तर, नदीमा बगेर आएका दुईवटा ठूला रुखहरू अड्किएर ठेलेपछि टुचिन चुँडिन पुगेको कम्पनीको दाबी छ।
झन्डै १५ करोड रुपैयाँको लगानीमा निर्मित ‘राइनो क्रुज’ नेपालकै पहिलो क्रुजसिप हो।१०० फिट लम्बाइ र २५ फिट चौडाइ रहेको यस क्रुजमा एकैपटकमा १८० जनासम्म यात्रु अटाउन सक्ने क्षमता छ।
७० टनभन्दा बढी तौल भएको यस क्रुजलाई डेढ वर्षअघि मात्रै नारायणी पुलभन्दा माथिल्लो भागमा ल्याइएको थियो। क्रुजलाई थप क्षति हुन नदिन र पुलको सुरक्षालाई ध्यानमा राख्दै उद्धार कार्य जारी राखिएको छ।
