
- असोज ९ देखि ११ गतेसम्म लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन मुख्यमन्त्रीले आग्रह गर्नुभएको छ।
- बाढी पहिरो र डुबानको जोखिम भएका क्षेत्रका बासिन्दालाई स्थानीय प्रशासनको सूचना पालना गर्न भनिएको छ।
- किसानहरूलाई मौसमको अवस्था हेरेर बाली भित्र्याउन र जोखिम मोलेर खेतमा काम नगर्न आग्रह गरिएको छ।
काठमाडौं।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई अपिल गरेका छन्।

नेपाल मौसम विज्ञान विभागले प्रदेशमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अतिभारी वर्षा हुनसक्ने सम्भावित प्रक्षेपण गरेपछि उनले सो आग्रह गरेका हुन्।
मुख्यमन्त्री आचार्यले आज बिहान अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढीपहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताएका छन्। नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।
नदी तथा खोलाकिनार, पहिरोको जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना तथा निर्देशन पालना गर्न मुख्यमन्त्री आचार्यको आग्रह छ।
धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर कृषिविज्ञको सल्लाहअनुसार आवश्यक तयारी गर्न पनि उनले अनुरोध गरेका छन्। वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न उनको आग्रह छ।
