राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आजदिनभरका समाचार

१. परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरसँग द्विपक्षीय यहाँ भेटवार्ता भएको छ।भेटका अवसरमा नेपाल र अमेरिकाबिचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपश्चात् राहत तथा पुनर्निर्माणका कार्यहरूलगायतका विषयमा छलफल भएको यहाँस्थित नेपाली नियोगले जनाएको छ। उक्त अवसरमा मन्त्री खनाल र उपविदेशमन्त्री हुकरबिच पुनर्निर्माणका प्रयासहरूमा अमेरिकाको निरन्तर सहयोगको विषयमा समेत कुराकानी भएको थियो।भेटघाटको अवसरमा परराष्ट्रसचिव अमृतबहादुर राई र स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायतका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।
२. कार्यकारी प्रमुख विदेश जाँदा विमानस्थलमा देखिने सेनाको सलामी, रातो कार्पेट, मन्त्रीहरूको लावालश्कर र फूलगुच्छाको परम्परालाई तोड्दै प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ अमेरिका प्रस्थान गरे।संयुक्त राष्ट्रसङ्घको ८१ औं महासभामा भाग लिन गएका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण बाहिरबाट जति सादगी देखियो, उति नै संसद्लाई छलेर र परम्परागत कूटनीतिक परामर्शबिना उडेको भन्दै आलोचनाको घेरामा पनि पर्यो।विमानस्थलमा देखिएको दृश्य विगतका सरकार प्रमुखहरूको भन्दा विल्कुलै भिन्न थियो। राष्ट्रिय पोसाक दौरा-सुरुवाल छाडेर कोट, पाइन्ट र स्पोर्ट्स सुजमा सजिएका प्रधानमन्त्रीलाई न त सेनाले सलामी दिए, न त कुनै औपचारिक बिदाइ समारोह नै राखियो।अन्य सर्वसाधारण यात्रु जहाज चढिसकेपछि मात्र बालुवाटारबाट निस्किएका उनलाई बिदाइ गर्न गृहमन्त्री सुदन गुरुङ र पर्यटनमन्त्री खडकराज पौडेल मात्र विमानस्थल पुगेका थिए। उनीहरूको हातमा समेत कुनै फूलगुच्छा थिएन।प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन अनौपचारिक पोसाकमै सामान्य कक्षबाट जहाज छिरे भने कार्यवाहक प्रधानमन्त्री स्वर्णिम वाग्लेले बालुवाटारमै पुस्तक उपहार दिएर बिदाइ गरे। विगतमा प्रधानमन्त्रीहरूले पत्नीलाई साथै लैजाने गरे पनि बालेन यसपटक एक्लै गए।तर, विमानस्थलको सादगीभन्दा बढी प्रधानमन्त्रीले सार्वभौम संसद्प्रति बेवास्ता गरे। यसअघि तत्कालीन प्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश जानुअघि संसद्मा उपस्थित भएर भ्रमणका एजेन्डा सार्वजनिक गर्ने स्थापित थिति थियो।
३. अमेरिकाले नेपालमा बाढीपछिको पुनर्स्थापना कार्यका लागि थप तीन करोड १० लाख डलर (३१ मिलियन डलर) सहयोग गर्ने भएको छ।परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबिच न्युयोर्कमा भएको भेटवार्ताका क्रममा अमेरिकाले थप सहयोग गर्ने योजना घोषणा गरेको हो।भेटमा नेपाल र अमेरिकाबिचको सम्बन्ध, हालै भोटेकोशीमा गएको बाढीपछिका राहत तथा पुनर्निर्माणका कार्यलगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ। पुनर्निर्माणका प्रयासमा अमेरिकाको निरन्तर सहयोगका विषयमा पनि कुराकानी भएको थियो।भेटबारे जानकारी दिँदै नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाले पक्की पुल निर्माणका लागि एक करोड डलर सहयोग गर्ने योजना बनाएको जनाएको छ। अमेरिकी कम्पनीबाट निर्माण सामग्री खरिद गरिने ती पुलले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना र क्षेत्रीय सम्पर्क विस्तारमा सहयोग पुग्ने दूतावासले जनाएको छ।त्यस्तै, प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता, आवास, संरक्षण, जीविकोपार्जन र जाडोयामका लागि आवश्यक सहयोगमा थप ८० लाख डलर उपलब्ध गराउने योजना रहेको दूतावासले जनाएको छ।भविष्यमा विपद्पछिको पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकी प्रविधिबाट निर्मित ड्रोनका लागि एक करोड ३० लाख डलर खर्च गर्ने योजना पनि रहेको दूतावासले जनाएको छ।नयाँ सहयोग घोषणासँगै नेपालमा बाढीको उद्धार तथा पुनर्स्थापनाका लागि अमेरिकाले गर्ने कुल सहयोग तीन करोड ६० लाख डलरभन्दा बढी पुगेको दूतावासले जनाएको छ। आवश्यकताअनुसार थप सहयोग पहिचान गरी नेपाल सरकारसँग सहकार्य गर्ने पनि अमेरिकाले जनाएको छ।
४. पोखराको लेकसाइडस्थित ठाडोपसलमा मेडिकल सञ्चालन गर्दै आएका एक व्यक्ति लागू औषधसहित पक्राउ परेका छन्। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले जिना मेडिकल हलका सञ्चालक ३२ वर्षीय सबिन चौधरीलाई नियन्त्रणमा लिएको हो।लेकसाइड क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जाँच गर्दा चौधरीको साथबाट नियन्त्रित लागू औषध डाईजापाम ५ एम्पुल, फेनारगन ४ एम्पुल, नुफिन ४ एम्पुल गरी जम्मा १३ एम्पुल र १२० चक्की कोडिन बरामद गरेको छ।बरामद लागू औषधसहित पक्राउ परेका चौधरीमाथि लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार निजलाई सम्मानित कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
५. शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।नेपाल मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाको पछिल्लो पूर्वानुमानअनुसार बुधबार देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।बिहीबार वर्षाको गतिविधि थप बढ्ने देखिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ।शुक्रबार भने वर्षाको प्रभाव अझ बढ्ने पूर्वानुमान छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ। शुक्रबार राति पनि देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
६. स्थानीय बजारमा बुधबार (आज) सुन र चाँदीको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन १०० रुपैयाँले बढेर प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ रहेको थियो।त्यस्तै, मंगलबार प्रतितोला चार हजार ७७५ रुपैयाँ रहेको चाँदी बुधबार ४० रुपैयाँले बढेर चार हजार ८१५ रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
७. आज काठमाडौंसहित ३० जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ।बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको सूचनाअनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, धनकुटा, भोजपुर, खोटाङ, दोलखा, रामेछाप, उदयपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकमा बाढीको जोखिम रहेको छ। त्यस्तै, आज काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, कास्की, लमजुङ, चितवन, नवलपरासी पूर्व र आसपासका जिल्लाबाट बहने स-साना नदीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।महाशाखाका अनुसार ती क्षेत्रमा आकस्मिक बाढीको मध्यम जोखिमसमेत रहेको छ।
८. लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले यही असोज ९ देखि ११ गतेसम्म उच्च सतर्कता अपनाउन प्रदेशवासीलाई अपिल गरेका छन्।नेपाल मौसम विज्ञान विभागले प्रदेशमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारीदेखि धेरै भारी वर्षा तथा केही स्थानमा अतिभारी वर्षा हुनसक्ने सम्भावित प्रक्षेपण गरेपछि उनले सो आग्रह गरेका हुन्।मुख्यमन्त्री आचार्यले आज बिहान अपिल जारी गर्दै सम्भावित भारी वर्षाका कारण बाढीपहिरो, भूक्षय, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने बताएका छन्। नदी, खोला तथा नालामा पानीको सतह बढ्न सक्ने र सडक तथा यातायातसमेत प्रभावित हुनसक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेका हुन्।नदी तथा खोलाकिनार, पहिरोको जोखिम रहेका बस्ती तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना तथा निर्देशन पालना गर्न मुख्यमन्त्री आचार्यको आग्रह छ।धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमको अवस्था हेरेर कृषिविज्ञको सल्लाहअनुसार आवश्यक तयारी गर्न पनि उनले अनुरोध गरेका छन्। वर्षाका समयमा जोखिम मोलेर खेतबारीमा काम नगर्न र सम्भव भएसम्म अन्नबाली सुरक्षित स्थानमा व्यवस्थापन गर्न उनको आग्रह छ।
९. पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा नियमित उडान सुरु गर्दैछ।विसं २०७९ पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको दिनदेखि सञ्चालनमा आएको विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकिरहेका बेला फ्लाई दुबईको नियमित उडान सुरु गर्न लागेपछि यहाँका पर्यटन व्यवसायी, उद्योगी तथा सर्वसाधारण उत्साहित भएका छन्।अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सम्पूर्ण तयारी तथा पूर्वाधार व्यवस्थापनको काम पूरा भएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए।उनका अनुसार फ्लाई दुबईको विमान बुधबार साँझ ६ः१५ बजे पोखरा अवतरण गर्नेछ भने यात्रु लिएर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। विमानलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिनेछ।अध्यागमन, भन्सार, कार्गो लगायतका सबै सेवा प्रवाहका लागि विमानस्थल तयारी अवस्थामा रहेको महाप्रबन्धक निरौलाले बताए। ‘हामी आजको दिनको पर्खाइमा छौँ। विमानस्थलबाट प्रवाह गर्नुपर्ने सम्पूर्ण तयारीका काम पूरा भएका छन्। विमानस्थल सञ्चालनपछि केही वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन। अहिले दुबईका लागि दैनिक नियमित उडान सुरु हुन लागेको अवस्थामा हामी उत्साहित छौँ,’ उनले भने।फ्लाई दुबईको विमानबाट पोखरा आउने तथा यहाँबाट दुबई प्रस्थान गर्ने यात्रु र पर्यटकलाई पोखराका पर्यटन तथा व्यवसायीले खादा र मालाले स्वागत तथा बिदाइ गर्ने तयारी गरेका छन्।
१०. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश लैजान लागिएको चुरोट तथा सुर्तीजन्य पदार्थ प्रहरीले बरामद गरेको छ।विमानस्थलको प्रस्थानतर्फ यात्रुका ब्यागेज एक्सरे मेसिनमार्फत सुरक्षा जाँच गर्ने क्रममा शङ्का लागेपछि अनुसन्धान गरिँदा विभिन्न ब्रान्डका चुरोट तथा सुर्तीजन्य पदार्थ फेलापरेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार, शिखर, सूर्य, क्याप्टेन, पाइलोट र खुकुरी ब्रान्डका ७२ बन्डल अर्थात् ७२० प्याकेट चुरोट तथा जित, सुपर पावर, भोला, मेघाश्री र करेन्ट ब्रान्डका ६९ पोका सुर्तीजन्य पदार्थ बरामद गरिएको छ।बरामद गरिएका ती चुरोट तथा सुर्तीजन्य पदार्थलगायतका बस्तु आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जानकारी दिइएको छ।विमानस्थलको सुरक्षा व्यवस्थालाई थप चुस्त तुल्याउँदै अवैधवस्तुको ओसारपसार तथा निकासी नियन्त्रणका लागि नियमित तथा सघन सुरक्षा जाँचलाई निरन्तरता दिइने प्रवक्ता सिलवालले बताए।
