
- लिड्स युनाइटेडले न्युक्यासललाई ४-१ गोलले पराजित गरेको छ।
- लिड्सले खेलको सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै सहज जित निकालेको हो।
- यो जितसँगै लिड्स प्रिमियर लिगको तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।
लिड्स युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४-१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको छ। एलान्ड रोडमा भएको खेलमा लिड्सले पहिलो हाफमै तीन गोल गर्दै खेल आफ्नो नियन्त्रणमा लिएको थियो।

लिड्सले न्युक्यासलका लुइस माइलीको आत्मघाती गोलबाट अग्रता लिएको थियो। त्यसको दुई मिनेटमै जेयडेन बोगलले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफको इन्ज्युरी समयमा डोमिनिक काल्भर्ट-लेविनले गोल गरेपछि लिड्स ३-० ले अघि रह्यो।
दोस्रो हाफमा पनि लिड्सले न्युक्यासलमाथि दबाब कायमै राख्यो। ५९औँ मिनेटमा नोआ ओकाफोरले गोल गर्दै लिड्सको अग्रता ४-० बनाए।
न्युक्यासलका बाजुमाना ट्राओरेले ९०औँ मिनेटमा एक गोल फर्काए पनि टोलीलाई खेलमा फर्काउन त्यो पर्याप्त भएन। ४-१ को जितसँगै लिड्सले अपराजित यात्रा जारी राख्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।
