
- उदयपुरमा एम्बुलेन्सले जथाभावी भाडा असुल्ने समस्या रोक्न नयाँ भाडादर कायम गरिएको छ।
- बिरामी बोक्दा अब अनिवार्य रूपमा बिल र रसिद दिनुपर्ने व्यवस्था लागू गरिएको छ।
- तोकिएको भन्दा बढी भाडा असुल्ने एम्बुलेन्सलाई कडा कारबाही गरिने भएको छ।
काठमाडौं।एम्बुलेन्सले जथाभावी भाडा असुल्ने गरेको जनगुनासो बढेपछि उदयपुरमा एम्बुलेन्सको भाडादरमा एकरूपता कायम गर्न कडाइ गरिएको छ।

बिहीबार बसेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्लामा सञ्चालित एम्बुलेन्सका लागि एउटै भाडादर लागू गर्ने निर्णय गरेको हो।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले सडकको अवस्था, बढ्दो महँगी र नागरिकको गुनासोलाई समेत ध्यानमा राख्दै नयाँ भाडादर निर्धारण गरेको हो। समितिले बिरामी बोकेबापत एम्बुलेन्सले अनिवार्य रूपमा बिल तथा रसिद उपलब्ध गराउनुपर्ने निर्णयसमेत गरेको छ।
स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाका अनुसार जिल्लामा सञ्चालन हुने एम्बुलेन्सका लागि नयाँ भाडादर निर्धारण गरिएको छ। तोकिएकोभन्दा बढी भाडा लिएको पाइए कारबाही गरिने उनले बताए।
सिडिओ अध्यक्ष रहने समितिको निर्णयअनुसार जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले विभिन्न गन्तव्यका लागि छुट्टाछुट्टै भाडादर निर्धारण गरेको हो। सदरमुकाम गाईघाटस्थित उदयपुर अस्पताल र कटारीस्थित प्रादेशिक अस्पताललाई केन्द्र मानेर गन्तव्यको दूरीअनुसार भाडादर तोकिएको छ।
नयाँ भाडादरअनुसार गाईघाटबाट धरान, इटहरी र विराटनगर जान ६ हजार रुपैयाँ, राजविराज जान ४ हजार, जनकपुर ७ हजार र काठमाडौं जान १७ हजार ५ सय रुपैयाँ भाडा तोकिएको छ।
