
- भक्तपुरको सूर्यविनायकमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीया युवतीको मृत्यु भएको छ।
- दुर्घटनामा गम्भीर घाइते भएकी कृषा राजभण्डारीको उपचारका क्रममा अस्पतालमा निधन भएको हो।
- चालकको उपचार भइरहेको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौ।भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सिर्जना नगरस्थित महाकाली पेट्रोल पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीया युवतीको मृत्यु भएको छ। बुधबार बिहान करिब ९ः५० बजे सल्लाघारीबाट राधेराधेतर्फ जाँदै गरेको बा.प्र.०२–०४३ प १५१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप नगरपालिका–४ घर भई हाल भक्तपुरको झौखेल बस्दै आएका ३० वर्षीय नुरबहादुर अछामी र पछाडि सवार सूर्यविनायक–५ सल्लाघारीकी २२ वर्षीया कृषा राजभण्डारी घाइते भएका थिए। दुवैलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा कृषा राजभण्डारीको मृत्यु भएको हो।
मोटरसाइकल चालक नुरबहादुर अछामीको भने अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
