
- सल्यानमा स्क्रब टाइफसको संक्रमण बढ्दा तीन जनाको मृत्यु भएको छ भने धेरै मानिस बिरामी परेका छन्।
- सरकारी स्वास्थ्य संस्थामा परीक्षण किटको अभाव हुँदा बिरामीहरू महँगो शुल्क तिरेर निजी क्लिनिकमा जान बाध्य छन्।
- यो रोग भुसुनाको टोकाइबाट सर्ने भएकाले जंगल वा खेतबारीमा जाँदा सतर्क रहन र लक्षण देखिए तत्काल उपचार गर्न चिकित्सकले सुझाव दिएका छन्।
सल्यान — सल्यानमा यस वर्ष पनि स्क्रब टाइफसको संक्रमण बढ्दै गएको छ । वर्षायामसँगै जिल्लाका विभिन्न क्षेत्रमा उच्च ज्वरोका बिरामी बढिरहेका बेला परीक्षण गरिएका बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिन थालेको हो । संक्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । स्क्रब टाइफसका कारण दार्मा गाउँपालिका–५ का एक र वडा नं. ६ का दुई गरी तीन पुरुषको मृत्यु भएको हो । लामो समयदेखि दीर्घरोगबाट प्रभावित उनीहरूमा स्क्रब टाइफसको परीक्षण गर्दा संक्रमण पुष्टि भएको र उपचारका क्रममा दाङ तथा नेपालगन्जमा मृत्यु भएको दार्मा गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार यस वर्ष पालिकामा मात्रै करिब ३० जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । ज्वरोका बिरामी बढेपछि परीक्षण गर्दा संक्रमण देखिएको उहाँले बताउनुभयो । ‘गएको वर्ष असोजदेखि स्क्रब टाइफस देखिएको थियो, यस वर्ष भने साउनदेखि नै देखिन थालेको छ’ उहाँले भन्नुभयो ‘पालिकाका अधिकांश बस्तीमा अहिले ज्वरोका बिरामी बढेका छन्, किटमार्फत परीक्षण गर्दा स्क्रब टाइफस पोजिटिभ देखिने क्रम पनि बढेको छ ।’
गएको वर्ष दार्मा गाउँपालिका स्क्रब टाइफसबाट निकै प्रभावित भएको थियो । उच्च ज्वरो र स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षणका कारण चार महिलाको मृत्यु भएको थियो भने ठूलो संख्यामा नागरिक बिरामी परेका थिए । स्वास्थ्य सेवा कार्यालय सल्यानको सहयोगमा घरघरमै पुगेर स्वास्थ्य परीक्षण तथा उपचार गरेपछि संक्रमण नियन्त्रणमा ल्याइएको बस्नेतले बताउनुभयो ।
यस वर्ष पनि संक्रमण बढ्दै गएपछि विगतकै अवस्था दोहोरिने जोखिम देखिएको उहाँको भनाइ छ । ‘स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षणका कारण गत वर्ष चार जनाको मृत्यु भएको थियो भने धेरै जना बिरामी परेका थिए’ उहाँले भन्नुभयो ‘यस वर्ष पनि जिल्ला अस्पताल हुँदै प्रदेश र केन्द्रमा जानकारी गराएका छौँ, अबको दुई–चार दिनमा परीक्षण किट आउने अपेक्षा छ, त्यसपछि स्क्रिनिङको दायरा बढाएर परीक्षण र उपचार गर्ने लक्ष्य छ ।’
संक्रमण बढिरहेका बेला दार्मा गाउँपालिकाका विभिन्न स्वास्थ्य संस्थामा स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएको छ । सरकारी स्वास्थ्य संस्थामा निःशुल्क परीक्षण हुनुपर्ने भए पनि किट अभावका कारण बिरामी निजी क्लिनिकमा जान बाध्य भएका छन् । किट अभावका कारण दार्माका नागरिक स्क्रब टाइफस परीक्षणका लागि झुल्नेटा, फारुला र बागचौरसम्म पुग्नुपर्ने अवस्था रहेको स्थानीयको भनाइ छ । ‘स्वास्थ्य संस्थामा निःशुल्क सेवा पाउने भए पनि किट अभावमा बिरामीलाई बाहिर पठाउने गरिएको छ’ एक स्थानीयले भने ‘स्क्रब टाइफस परीक्षणकै लागि टाढा जानुपर्ने अवस्था छ, सरकारी स्वास्थ्य संस्थामा किट नहुँदा दुःख लागेको छ ।’
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार साउन महिनामा मात्रै जिल्लामा ४१ जनाको स्क्रब टाइफस परीक्षण गरिएको थियो । त्यसमध्ये तीन पुरुष र दुई महिलासहित पाँच जनामा संक्रमण पुष्टि भएको कार्यालयका सूचना अधिकारी प्रतीक भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार भदौ महिनामा स्क्रब टाइफस संक्रमितको संख्या अझै बढेको जानकारी स्वास्थ्य संस्थाबाट आइरहेको छ । तर स्वास्थ्यसम्बन्धी तथ्यांक सफ्टवेयरमा अद्यावधिक हुने भएकाले भदौ महिनाको आधिकारिक विवरण महिनाको अन्त्यमा मात्रै आउने उहाँले बताउनुभयो ।
गत वर्ष सल्यानमा स्क्रब टाइफसको संक्रमण व्यापक देखिएको थियो । सरकारी तथ्यांकअनुसार जिल्लामा एक हजार ८२४ जनाको परीक्षण गर्दा ४६१ जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य शिविर सञ्चालन गरी गाउँ–गाउँमा परीक्षण गर्दा संक्रमितको संख्या सरकारी तथ्यांकभन्दा अझ बढी रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । गत वर्ष दार्मासँगै शारदा नगरपालिका, बागचौर नगरपालिका, छत्रेश्वरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र कपुरकोट गाउँपालिकालगायतका क्षेत्रमा पनि स्क्रब टाइफसका बिरामी भेटिएका थिए ।
स्क्रब टाइफस विशेषगरी वर्षातको समयमा बढी देखिने गर्छ । मुसामा पाइने संक्रमित माइट (सूक्ष्म किरा) को टोकाइबाट मानिसमा यो रोग सर्ने गर्दछ । मानिसबाट मानिसमा भने स्क्रब टाइफस सर्दैन । सल्यानका अधिकांश नागरिक कृषि पेसामा आबद्ध छन् । घाँस–दाउरा तथा कृषि कामका लागि जंगल, झाडी र खेतबारीमा जाने भएकाले उनीहरू संक्रमणको उच्च जोखिममा छन् ।
स्वास्थ्यकर्मीहरूले जंगल तथा झाडीमा जाँदा शरीर ढाक्ने गरी लामो कपडा लगाउन, बुट तथा पन्जा प्रयोग गर्न, घर वरिपरिका झाडी सफा राख्न र ज्वरो आउनेलगायतका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरेका छन् । समयमै पहिचान र उपचार हुन नसके स्क्रब टाइफसले मुटु, फोक्सो, मिर्गौलालगायतका महत्वपूर्ण अंगमा गम्भीर असर पु¥याउन सक्ने भएकाले संक्रमण बढिरहेका बेला परीक्षणको दायरा बढाउन र स्वास्थ्य संस्थामा पर्याप्त परीक्षण किट उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको छ ।
सल्यानमा स्क्रब टाइफसका बिरामी बढ्दै गएपछि चिकित्सकले भुसुनाको टोकाइबाट जोगिन र ज्वरो आएमा तत्काल स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन आग्रह गरेका छन् । जिल्ला अस्पताल सल्यानका डा. जगतकिरण वलीका अनुसार झाडी, घाँस, खेतबारी तथा वनजंगलमा पाइने संक्रमित भुसुनाको टोकाइबाट स्क्रब टाइफस मानिसमा सर्ने गर्छ । उच्च ज्वरो, टाउको तथा शरीर दुख्ने, अत्यधिक कमजोरी हुने, खोकी लाग्ने र भुसुनाले टोकेको ठाउँमा कालो दाग वा घाउजस्तो देखिनु यसका प्रमुख लक्षण हुन् ।
उहाँका अनुसार स्क्रब टाइफस समयमै पहिचान गरी चिकित्सकको सल्लाहअनुसार उचित एन्टिबायोटिक सेवन गरेमा निको हुने रोग हो । सामान्यतया सात दिनसम्म औषधि सेवन गर्नुपर्ने हुन सक्ने भए पनि औषधिको प्रकार र अवधि बिरामीको अवस्था हेरेर चिकित्सकले निर्धारण गर्ने उहाँको भनाइ छ । समयमै उपचार नभएमा स्क्रब टाइफसले मुटु, फोक्सो, मिर्गौलालगायत शरीरका महत्वपूर्ण अंगमा गम्भीर असर पार्न सक्ने चिकित्सकको भनाइ
