
- गायक मोतिराज खनालको प्रस्तुतिमा मौलिक तीज गीत कम्मरु भाँचौंला सार्वजनिक भएको छ।
- इन्द्रेणी कार्यक्रममा एक समारोहबीच वरिष्ठ कलाकार उत्तम केसीले गीतको विमोचन गरे।
- गीतमा तीजको सांस्कृतिक महत्वका साथै माइती र श्रीमान्बीचको रमाइलो पारिवारिक कथा समेटिएको छ।
अर्जुन थापा काठमाडौं । लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको प्रस्तुतिमा नयाँ तीज गीत ‘कम्मरु भाँचौंला’ सार्वजनिक भएको छ। नेपाली मौलिक तीज संस्कृति, चेलीबेटीको माइतीप्रतिको आत्मीयता र पर्वको उल्लासलाई समेटिएको गीतको लोकप्रिय सांगीतिक कार्यक्रम ‘इन्द्रेणी’मा भव्य समारोहबीच प्रमोचन गरिएको हो।

श्रावण २५ गते सम्पन्न प्रिमोचन कार्यक्रममा गायक मोतिराज खनालको अध्यक्षता रहेको थियो। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा वरिष्ठ कलाकार उत्तम केसी प्रमुख अतिथिका रूपमा उपस्थित भई गीतको औपचारिक प्रिमोचन गरेका थिए।
कार्यक्रमको उद्घोषण समाजसेवी तथा अभियन्ता विशाल मिश्रले गरेका थिए। प्रिमोचन समारोहमा वरिष्ठ कलाकार पार्वती अधिकारी, ‘इन्द्रेणी’का अध्यक्ष तथा सञ्चालक कृष्ण कँडेल, ऋषिराम भुसाललगायत कलाकार, सञ्चारकर्मी, शुभेच्छुक तथा आफन्तजनको उपस्थिति रहेको थियो।
कार्यक्रममा गीतको सिर्जना, तीज संस्कृतिको मौलिकता तथा नेपाली लोकसंगीतको संरक्षणका विषयमा समेत चर्चा गरिएको थियो।

मोतिराज खनाल, बैकुण्ठ महत र रेखा पोख्रेलको स्वर रहेको **‘कम्मरु भाँचौंला’**का शब्द मोतिराज खनाल र किरण पन्थीले लेखेका हुन् भने संगीत मोतिराज खनालकै रहेको छ। गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लले गरेका छन्। कृष्ण बाजुरालीले रेकर्डिङ तथा मिक्सिङको जिम्मेवारी सम्हालेका छन् भने गीतको रेकर्डिङ ‘द म्युजिक एरा स्टुडियो’मा गरिएको हो।
गीतको भिडियोमा भुवन के. पोखरेल, जुना काकी, भगवान भण्डारी र रेणुका बरालको अभिनय तथा नृत्य रहेको छ। शिवाजी क्षेत्रीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको भिडियोमा विभिन्न जिल्लाका चेलीहरूको सामूहिक सहभागिताले तीजको मौलिक रंगलाई थप जीवन्त बनाएको छ।
भिडियोको छायांकन सुनिल राउत तथा टिमले गरेका हुन् भने प्रमोद बमले भिजुअल एडिट तथा कलरको जिम्मेवारी सम्हालेका छन्। मेकअपमा शंकर सुमनको योगदान रहेको छ।
**‘कम्मरु भाँचौंला’**को भिडियोमा तीजका अवसरमा श्रीमती माइत जाने तयारी गरेपछि श्रीमान्ले ‘यसपालि माइत नजाऊ, सँगै नाचौँला’ भन्दै फकाउने रमाइलो प्रसंगबाट कथा अघि बढ्छ। तर माइतीबाट बाबाको फोन आएपछि कथाले भावनात्मक मोड लिन्छ।
यसरी तीजमा छोरी–चेलीलाई माइती बोलाउने परम्परा, बाबुआमाको माया, माइतीप्रतिको आत्मीयता तथा श्रीमान्–श्रीमतीबीचको रमाइलो सम्बन्धलाई गीतले मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको छ। पछिल्लो समय तीज गीतमा मौलिकता र सांस्कृतिक पक्षलाई प्राथमिकता दिनुपर्ने बहस चलिरहेका बेला **‘कम्मरु भाँचौंला’**ले परम्परागत तीजको भावनासँगै आधुनिक प्रस्तुति र मनोरञ्जनलाई जोड्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।
तीजको मौलिक स्वाद, छमछमी नाच्न मिल्ने लय र पारिवारिक कथावस्तुलाई एकैसाथ प्रस्तुत गरिएको गीतले दर्शक–श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। गीतको म्युजिक भिडियो मोतिराज खनालको आधिकारिक युट्युब च्यानलमार्फत दर्शक–श्रोतामाझ सार्वजनिक गरिएको छ।
- उक्त म्युजिक भिडियो
