
- प्रधानमन्त्री र मधेस केन्द्रित दलका नेताहरूबीच तराईका समस्याबारे सकारात्मक छलफल भएको छ।
- नेताहरूले समस्या समाधानका लागि सुरक्षा र समन्वयसम्बन्धी विभिन्न व्यावहारिक सुझाव दिएका छन्।
- विगतका सम्झौता कार्यान्वयन र सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ।
काठमाडौ – मधेस केन्द्रित राजनीतिक दलका नेताहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँग भएको छलफल सकारात्मक रहेको बताउनुभएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेताहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएका समस्याको समाधानका लागि आफूहरूले विभिन्न सुझाव दिएको बताउनुभयो । प्रधानमन्त्री शाह समस्या समाधानका विषयमा संवेदनशील र प्रतिबद्ध देखिनुभएको उहाँहरूको भनाइ थियो ।
छलफलपछि जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्रीले पहिलोपटक मधेस केन्द्रित राजनीतिक दलका नेताहरूसँग छलफल गर्नुभएको भन्दै यसलाई सकारात्मक पहलका रूपमा लिनुभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीज्यूले पहिलो पटक मधेस केन्द्रित राजनीतिक दलसँग छलफल गर्नुभएको हो । छलफल धेरै नै सकारात्मक कदम भएको हाम्रो निष्कर्ष छ । हामीले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएका छौँ ।”
अध्यक्ष राउतले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको समस्या नयाँ नभएको उल्लेख गर्दै यसको दीर्घकालीन समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताउनुभयो । तत्काल समस्या समाधानका लागि ‘¥यापिड एक्सन टिम’ गठन, नियमित ब्रिफिङ, सुरक्षा जनशक्तिको क्षमता अभिवृद्धि तथा समुदायस्तरमा समन्वय र नियमनका लागि पनि आफूहरूले सुझाव दिएको उहाँले जानकारी दिनुभयो ।
मुस्लिम आयोगका संस्थापक अध्यक्ष समिर मियाँ अन्सारीले व्यक्तिगत विवाद साम्प्रदायिक तहसम्म पुग्नु मुलुकका लागि घातक हुने बताउनुभयो । उहाँले घटनाका दोषीलाई कारबाही गर्न तथा अवस्था सामान्य बनाउन प्रधानमन्त्रीसँग गहन छलफल भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यस विषयमा प्रधानमन्त्रीज्यूसँग घनिभूत छलफल भयो । घटनाका दोषीलाई कारबाही गर्न र अवस्था सामान्य पार्नका लागि हामीले केही सुझाव दिएका छौँ ।”
राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विगतका सरकारले मधेससँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि प्रधानमन्त्रीलाई सुझाव दिएको बताउनुभयो । मधेसमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
सुनसरीमा भएको घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गरी समयमै समस्या समाधान गर्न पनि प्रधानमन्त्रीसँग आग्रह गरिएको उहाँले बताउनुभयो ।
छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिर मियाँ अन्सारी, राम के शर्मा, प्रभु साह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउतलगायत मधेस केन्द्रित दल तथा समुदायका नेताहरू सहभागी हुनुहुन्थ्यो ।
