
- मुगुको तारापानी बाढीपीडितका लागि आएको राहत रकम अध्यक्षको व्यक्तिगत खातामा आएको उपाध्यक्षको खुलासाले विवाद बढाएको छ।
- राहत वितरण प्रक्रिया अपारदर्शी देखिएपछि अध्यक्ष धर्मबहादुर शाहीमाथि हिसाब सार्वजनिक गर्न तीव्र दबाब परेको छ।
- जनप्रतिनिधिबाटै राहतमा ठगी भएको आशंकाले स्थानीय निराश छन् र पीडितहरू अझै पनि रकम पाउने आशामा कुरिरहेका छन्।
रतन रावल मुगु तारापानी बाढीपीडितका लागि प्राप्त राहत रकमको विषयमा उठेको विवादले नयाँ मोड लिएको छ। उपाध्यक्ष केशर जंग शाहीले केही बेर अघि मात्रै आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् त्यो स्पष्टीकरणले राहत रकमको पारदर्शितामाथि थप गम्भीर प्रश्न खडा गरेको छ।
शाहीले आफ्नो वक्तव्यमा इन्द्रेणी फाउन्डेसनबाट आएको राहत रकम गाउँपालिकाको नाममा नभई अध्यक्ष धर्मबहादुर शाहीको व्यक्तिगत नाममा चेकमार्फत बुझाइएको उल्लेख गरेका छन्। यति मात्र होइन, उक्त रकम गाउँपालिकामार्फत औपचारिक रूपमा वितरण गरिएकोबारे आफूलाई कुनै जानकारी नभएको पनि बताएका छन्।

उपाध्यक्षकै भनाइलाई आधार मान्ने हो भने राहत रकमको प्राप्ति, बैंकिङ प्रक्रिया र वितरणबारे स्पष्ट अभिलेख सार्वजनिक नभएको देखिन्छ। यसले राहत रकम वास्तवमा कसरी परिचालन भयो भन्ने विषयमा स्थानीयस्तरमा थप आशंका जन्माएको छ। प्राकृतिक प्रकोपले ठगिएका नागरिकलाई आफ्नै हातले भोट हालेर जिताएका जनप्रतिनिधिले समेत ठगी गर्दा उनीहरुको सहारा भगवान भरोषा बाहेक कोही रहेन
दान रकम बिबाद सम्बन्धमा नेपाल खोज खवर समाचार सम्प्रेषण भएपछि यो बिषयमा सत्य तथ्य बाहिर ल्याउन जनप्रतिनिधिहरुलाई दबाब परेको थियो । यो बिषयको विवाद चर्किंदै जाँदा अध्यक्ष धर्मबहादुर शाहीमाथि राहत रकमको सम्पूर्ण हिसाब सार्वजनिक गर्न दबाब बढेको छ। स्थानीयवासी तथा सरोकारवालाले रकम कहाँ, कसलाई र कति वितरण गरियो भन्ने विवरण तत्काल सार्वजनिक गर्न माग गरेका छन र आज पनि तारापानीका बाढी पिडित आफुले पाउने राहत रकम कतै पाईहालिन्छ कि भनेर झिनो आशा गरेर बसेका छन । यो प्रकरणले सोरु गाउँपालिकाका अध्यक्षलाई तत्काल रकम पिडितलाई उपलब्ध गराउन दबाब समेत परेको छ ।
