बुटवल । बुटवल उपमहानगरपालिका–११ स्थित श्री देवीनगर सरसफाइ तथा वातावरण संरक्षण सहकारी संस्था लिमिटेडको आयोजनामा “सरसफाइ तथा हरियाली प्रवर्द्धन” सम्बन्धी एकदिने सचेतनामूलक गोष्ठी कार्यक्रम हिजो सम्पन्न भएको छ। कार्यक्रममा करिब ३०० जना उपभोक्ता तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो।


कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका सहकारी शाखा प्रमुख गुणाकर खनालले पानसमा दियो बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो।

विशिष्ट अतिथिका रूपमा कृषि शाखा प्रमुख सन्तोष जिसीको उपस्थिति रहेको कार्यक्रममा उहाँले कौसी खेती, सरसफाइ व्यवस्थापन तथा हरियाली प्रवर्द्धनका व्यावहारिक पक्षबारे सहजीकरण गर्नुभएको थियो। त्यस्तै, प्रमुख अतिथि खनालले सहकारीको भूमिका, व्यवस्थापन तथा सामुदायिक विकासमा यसको योगदानबारे प्रशिक्षणमूलक मन्तव्य प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष सुरेश कुमार पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष भगवती पन्थीले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव हरि प्रसाद भट्टराईले गर्नुभएको थियो।
गोष्ठीमा वक्ताहरूले सरसफाइलाई दैनिक जीवनशैलीको अभिन्न अंग बनाउनुपर्ने, हरियाली विस्तार गरी स्वच्छ र स्वस्थ वातावरण निर्माणमा सबैको साझा जिम्मेवारी रहने कुरामा जोड दिएका थिए। सहभागीहरूमा सकारात्मक ऊर्जा र जागरण देखिएको थियो।
कार्यक्रमले समुदायमा सरसफाइ तथा हरियालीप्रति नयाँ उत्साह र जिम्मेवारी बोध गराउँदै आगामी दिनमा यस्ता अभियानलाई अझ व्यापक बनाउने प्रतिबद्धतासहित समापन भएको आयोजकले जनाएको छ।
